नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:४१ बजे र सूर्यास्त,साँझ ०५:०६ बजे हुनेछ भने चन्द्रास्त,साँझ ०५:११ बजे र चन्द्रोदय,अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पर्द्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन् ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

