काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले ‘बैगुनी केटो’ नामक युट्युब र फेसबुक च्यानल सुरु गर्ने घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको उपनामलाई उनले अब आफ्नो डिजिटल ब्रान्डको रूपमा अगाडि बढाउने तयारी गरेका हुन् ।
‘अध्यक्षले नै यो ट्याग दिनुभयो’
भट्टराईले नागरिक दैनिकसँगको अन्तर्वार्तामा भने, “अध्यक्षले नै ‘बैगुनी केटो’ भन्नुभयो नि भन्ने प्रश्नमा म भन्छु — हो, अब त मेरो ट्याग नेम नै जस्तो भयो। धेरैले मलाई यही नामले चिन्छन्।”
उनका अनुसार निकट भविष्यमै उनले ‘बैगुनी केटो’ नाममा आफ्ना विचार, सन्देश र विश्लेषण सार्वजनिक गर्ने युट्युब तथा फेसबुक पेज सञ्चालन गर्ने योजना बनाइरहेका छन् ।
डिजिटल पहिचानमार्फत जनता सामु
भट्टराईले डिजिटल प्लेटफर्ममार्फत आफ्नो सन्देश र सोचलाई देशभित्र र बाहिरका नेपालीहरूमा सजिलै पुर्याउन सकिने विश्वास व्यक्त गरे । उनले भने, “अब म आफ्ना विचार डिजिटल माध्यमबाट खुला रूपमा जनतासामु लैजानेछु, यो नयाँ अभ्यास हुनेछ।”
ओलीसँगको सम्बन्धबारे स्पष्टता
अध्यक्ष ओलीसँगको सम्बन्धबारे सोध्दा भट्टराईले आफूहरूबीच न त निकटता घटेको न त दूरी बढेको बताएका छन् । “हामी आपसी समझदारीमै अघि बढिरहेका छौं,” उनले स्पष्ट पारे ।
‘बैगुनी केटो’ नामले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । अब यही नाम योगेश भट्टराईको नयाँ डिजिटल पहिचान बन्ने भएको छ ।


