काठमाडौँ । दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको पाइएको छ। नेपाल खुद्रा व्यापार सङ्घको मूल्य सूचीअनुसार पछिल्लो ६ महिनामा विभिन्न खाद्यवस्तु तथा मसलाको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ।
संघको वैशाख र असोजको खुद्रा मूल्य तुलना गर्दा धनियाँ पाउडरको मूल्य प्रतिकिलो ३५० रुपैयाँबाट बढेर ४७५ रुपैयाँ पुगेको छ। त्यस्तै चना दाल १५० बाट १८०, काँचो बदाम २५० बाट २९० तथा काँचो तोरीको तेल प्रतिलिटर ३७५ बाट ४०० रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ।
त्यसैगरी स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ बाट १०५ रुपैयाँ, मासको दाल २०० बाट २२०, रहर दाल २२० बाट २३०, जिरा पाउडर ७५० बाट ७७५ र चिनी १०५ बाट ११० रुपैयाँ पुगेको छ।
केही वस्तुको मूल्य ३० प्रतिशतभन्दा बढी वृद्धि
नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा धनियाँ पाउडरको मूल्य करिब ३५.७१ प्रतिशत बढेको छ। धनियाँ गेडा ३० प्रतिशत, सेतो भटमास २१.४३ प्रतिशत र चना दाल २० प्रतिशतले महँगिएको देखिन्छ। काँचो बदाम, सानो चना, डाल्डा घ्यू, चामल तथा विभिन्न तेलको मूल्यमा समेत वृद्धि भएको छ।
बजार अनुगमन गर्ने निकाय नेतृत्वविहीन
चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा वाणिज्य विभागका महानिर्देशक मोतीराम सापकोटाको सरुवा भएपछि विभागमा नेतृत्वको अभाव देखिएको समाचारमा उल्लेख छ।
सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको र पछि गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको बताइएको छ। नयाँ महानिर्देशक नियुक्त नभएकाले विभागका केही महत्वपूर्ण निर्णयमा असर परेको मन्त्रालयका प्रवक्ताले बताएका छन्।
मन्त्रालयले नियमित बजार अनुगमन भइरहेको दाबी गरे पनि महानिर्देशकले गर्नुपर्ने अर्धन्यायिक प्रकृतिका केही निर्णय भने प्रभावित भएको प्रवक्ताले स्वीकार गरेका छन्।
चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। उपभोक्ताले बजारमा वस्तुको वास्तविक मूल्य, गुणस्तर र आपूर्तिमा प्रभावकारी अनुगमन तथा कालोबजारी नियन्त्रणको अपेक्षा गरेका छन्।
स्रोत : रातोपाटी / नेपाल खुद्रा व्यापार सङ्घको मूल्य विवरण


