
- साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा अष्टनागको विशेष पूजा गरी घरको मूल ढोकामा नागको चित्र टाँस्ने परम्परा छ।
- यस दिन घरमा चट्याङ र सर्पको भय नहुने धार्मिक विश्वासका साथै शुभ कार्य गर्न साइत हेर्नु नपर्ने मान्यता छ।
- पर्यावरण सन्तुलनमा सर्पको महत्त्वपूर्ण भूमिका हुने भएकाले सर्प संरक्षणको महत्व बुझाउन पनि यो पर्व मनाइन्छ।
नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो।
हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पूजा गरिन्छ।नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो।यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने धार्मिक परम्परा रहेको छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ । यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर, गोठ तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।
यो धार्मिक विधिविधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको विषय हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधी बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत बस्ने पनि गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खिर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी ९भोग लगाई०, प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।
नागपञ्चमी ९नाग टाँस्ने० दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।
पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो ।
महाभारतमा~ऋषि अस्तिकले राजा जनमेजयलाई त्याग गर्न र अन्ततः सर्प जाति (सर्प सत्र) लाई नष्ट गर्नबाट रोकेको बनेर वर्णन गरिएको छ। यो बलि जनमेजयले आफ्ना पिता परीक्षितको मृत्युको बदला लिनका लागि गरेका थिए, जसलाई सर्पका राजा तक्षकले मारेका थिए। जुन दिन बलि बन्द गरिएको थियो, त्यो दिन साउन महिनाको शुक्ल पक्ष पञ्चमीका दिन थियो। यस यज्ञको क्रममा सम्पूर्ण महाभारतको वर्णन सर्वप्रथम ऋषि वैशम्पायनले गरेका थिए।त्यस दिनदेखि यस दिनलाई नाग पञ्चमीको रूपमा मनाइँदै आएको छ।

