मान्छे शहर पसे, बाँदर गाउँ छिरे

समाचार सारांश
Auto Generated by AI
  • बसाइँसराइका कारण गाउँघर रित्तिँदा मानिसको उपस्थिति घटेकाले बाँदरको संख्या र आतंक ह्वात्तै बढेको छ।
  • मानिसले खानेकुरा दिएर पल्काउनु तथा वनको विनाश र गलत व्यवस्थापनले बाँदरहरू बालीनाली र घरमा पस्न थालेका हुन्।
  • बाँदर नियन्त्रणका लागि बन्ध्याकरण, बालीमा विविधता, वन संरक्षण र राष्ट्रिय स्तरको एकीकृत नीति आवश्यक छ।

रित्ता घरमा बस्न थाले। लेखक रामचन्द्र अधिकारीले तयार पारेको लेख

बाँदरको बात हिजोआज जंगलदेखि गाउँ–शहर अनि संसद् र सरकारसम्म व्याप्त छ । संसद्‌मा यस विषयले केही वर्षअघि नै प्रवेश पाएको थियो । बाँदर आतंकित गाउँघरका बासिन्दाले गएको चुनावका बेला भोट माग्न आउने हरेक उम्मेदवारसित बाँदर नियन्त्रण गरिदिन माग राखे । चुनिएर आएका सांसदहरूले पनि संसद्‌मा सरकारसँग गाउँले जनतालाई दुःख दिइरहेको बाँदर नियन्त्रण गर्न माग गरेका हुन् । सरकारले यो समस्या समाधानका लागि उचित कदम चाल्नुपर्छ । 

मानव र बाँदरबीच किन बढ्यो द्वन्द्व ? 

नेपालमा रैथानेहरूले गाउँदेहात छाड्ने क्रम शुरू भएको आजभन्दा ८०/९० वर्षअघिदेखि नै हो । यद्यपि अहिलेझैं गाउँघरै खाली गरेर शहर पस्नेहरूको ताँती त्यसबखत थिएन । चालीसको दशकमा पहाडी क्षेत्रमा व्यापक वनफँडानी भयो, जंगल क्षेत्रमा मानव गतिविधि धेरै बढ्यो । बाँदरको बासस्थान मासियो, संख्या निकै घट्यो। तर पछिल्ला वर्षहरूमा गाउँगाउँका मानिसहरू बस्ती नै शून्य हुनेगरी तराई–मधेश र सुविधासम्पन्न शहरतिर बसाइँ हिंड्न थाले । ग्रामीण भेकका गाउँ जंगलले ढाक्दै छ । वासस्थान र आहार क्षेत्रमा मानिसको उपस्थिति घटेपछि बाँदरको संख्या ह्वात्तै बढेको छ ।

२०/२५ वर्ष अघिसम्म बसाइँसराइकै कारण गाउँघरमा बाँदर आतंक यतिविधि थिएन । एउटा परिवार बसाइँ सर्दा खाली ठाउँमा जनसंख्या प्रतिस्थापन भइरहन्थ्यो । खाली भएको घर र जमिनमा हुने जनसंख्या परिपूरणले न खेतबारी बाँझो रहन दिन्थ्यो, न त मानिस र बाँदरको लडाइँ मकैको थाँक्रो र धानको भकारीसम्मै आउने सम्भावना थियो ।

तर, पछिल्ला दशकमा मानव–वन्यजन्तु द्वन्द्वमा मानिसमाथि बाँदर हाबी भयो । पहाडी क्षेत्रका गाउँघर बसाइँसराइबाट लगभग रित्तिंदैछन् । मानिस नभएर गाउँघरका खेतबारी बाँझो रहन थाल्यो र जंगल क्षेत्र बढ्दै गाउँघर, खेतबारी, चरिचरन सबै ढाक्यो । मानिस बसेका भन्दा खाली घरहरू धेरै हुन थाले । बाँदरहरूले बालीनाली खाने अनि तिनै रित्ता घरमा बास बस्ने गर्न थाले । गाउँघरमा बाँकी रहेका मानिसले लगाएका बालीनाली खाइदिने, कहिलेकाहीं त आक्रमण नै गर्ने, खेद्न खोजे जंगलतिर भाग्ने र राति तिनै रित्ता घरमा बस्ने बस्न थाले ।

तराई–मधेशमा पनि उस्तै

पछिल्लो समय तराई–मधेशमा पनि बाँदरको बिगबिगी बढिरहेको छ । यताको कारण भने अलिक भिन्न छ । जंगलको संरक्षण गर्न समुदायको एकतामा बनेका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूले जंगल सबै छिचोलेका छन् । उनीहरू वनक्षेत्रभित्र घुमफिर गर्ने मात्र होइन, आवश्यक वनपैदावर पनि जोहो गर्छन् । घाँस–दाउरा संकलन गर्ने मात्र होइन, प्रक्रिया पूरा गरेर ठूला रूख र ढलेपडेका रूखहरू पनि निकाल्छन् । यस्ता क्रियाकलापले बाँदर जंगलमा डराएर खेतीतिर पस्छ । यही कारण तराई–मधेशमा पनि बाँदर आतंक बढिरहेको छ । 

सोचनीय कुरा के छ भने प्रकृतिमा भएका कुनै पनि जीवजन्तु मानिससँग आजसम्म बाँदरझैं आक्रामक ढंगले प्रस्तुत भएका थिएनन् । मानिससित प्राकृतिक र अन्य स्रोतमा साझेदारी वा प्रतिस्पर्धा नै गर्ने स्तरमा पनि थिएनन् ।
तसर्थ बाँदरसँगको द्वन्द्व निकै घमासान हुने पूर्वसंकेत देखिएको छ । राष्ट्रिय कृषि गणना–२०७८ का अनुसार नेपालका ६ हजार वडामा गरिएको सर्वेक्षणमा चार हजार वडामा बाँदर–मानव द्वन्द्व बढेको छ ।

द्वन्द्व बढ्नुका अन्य कारण

मानिस र बाँदरबीच द्वन्द्व बढ्नुमा बाँदरभन्दा बढी भागीदार मानिस नै हो । किनभने मानिसले बाँदरलाई खानेकुरा दिएर पल्काएका छन् । खानेकुरामा पल्केपछि, मिहिनेत नगरी खान पाउने भएपछि बाँदरहरूले आफैं खोजी खान छोडेर, जंगल जानुको सट्टा बिस्तारै मानिसका बालीनाली मात्र होइन घरभित्रै पसेर खानेकुरा खाइदिन थाले ।

धार्मिकस्थल, समाधिस्थल, वनक्षेत्र आसपासका होटल, पिकनिकस्थल र सडकका किनारमा मानिसले दिएका खानेकुरा खान पल्किएका कारण बाँदरमा वनभित्र आत्मसुरक्षाका लागि मात्र जाने, खानका लागि उल्लेखित स्रोतमै भर पर्ने बानी विकास भयो । यसैकारण बाँदरसँग मानिसको द्वन्द्व बढ्यो । 

अतिआतंक मच्चाएपछि बाँदरलाई स्थानान्तरण गर्ने काम पनि हुने गरेको छ । स्थानीयका अनुमान अनुसार काठमाडौं उपत्यकाका बाँदर लगेर उनीहरूका गाउँठाउँमा छोडिएका हुन् । यसरी छोडिएका बाँदर त्यहाँका स्थानीय बाँदरको दादागिरी र शहरमा मानिसले दिएका खानेकुरामा भर परेका कारण जंगलभित्र छिरेर खानेकुरा खोजी खान सक्दैनन् । अनि सडकछेउ, खेतबारी वा घरभित्र छिरेर खानेकुरा खाइदिने गर्छन्। पहाडी क्षेत्रका सबै पालिका अझ भनौं सबै वडामा यो समस्या छ, तराईमा पनि यो समस्या क्रमशः 

समस्या छ, तराईमा पनि यो समस्या क्रमशः बढिरहेको छ।

बाँदरका प्रजाति

बाघलगायत केही वन्यजन्तु गणना गर्ने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग या सरकारका अन्य निकायले देशभरका कृषि क्षेत्रमा आतंक मच्चाइरहेको बाँदरको गणना गरी तथ्यांक सार्वजनिक गरेका छैनन् । गत वर्ष जेठमा वन मन्त्रालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागले थालेको भनिएको बाँदर गणनाको नतिजा पनि सार्वजनिक भएको छैन । गणकहरूले अनौपचारिक रूपमा उपलब्ध गराएका तथ्यांकलाई मान्ने हो भने नेपालमा यतिखेर बाँदरको संख्या आठ लाख नाघिसकेको छ। प्रजनन दर पनि उच्च भएकाले बाँदरले आहारा पाउन्जेल संख्या अझै केही वर्ष तीव्रतर बढ्न सक्छ।

उमेर पुगेकी बाँदर्नीले एउटा बच्चा ढाडमा बोकिरहेकी हुन्छे भने अर्को बच्चा पाठेघरमा बढिरहेको हुन्छ । ढाडको बच्चा स्वतन्त्र हुनासाथ गर्भको बच्चा जन्मिन्छ । जन्म निरन्तर छ । बाँदरमा करीब १६० दिनको गर्भावस्था र १५ वर्षजतिको आयु हुन्छ । मांसाहारी जनावरहरूले पनि आहारमा चाहेका जनावरहरू पाउने गरेका कारण बाँदरलाई प्राथमिक शिकारको रूपमा लिंदैनन्। मूलतः संरक्षित क्षेत्रमा अन्य जनावरको संरक्षण गर्दा बाँदरको पनि संरक्षण भयो, सुरक्षा पायो र संख्या 

मूलतः संरक्षित क्षेत्रमा अन्य जनावरको संरक्षण गर्दा बाँदरको पनि संरक्षण भयो, सुरक्षा पायो र संख्या बढ्यो । 

पृथ्वीमा ३३० प्रजातिका बाँदर रहेको अनुमान गरिएको छ भने नेपालमा चाहिं चार प्रजातिका बाँदरको संख्या बढी छ । नेपालमा रातो बाँदर, पहरे बाँदर, नेपाली लंगूर र तराई लंगूर पाइन्छन् । अर्को एउटा पहाडी लंगूर प्रजाति पनि रहेको केही अनुसन्धानकर्ताले दाबी गरेका छन् । यीमध्ये मानिससँग झगडा गर्न आउने र समस्याको रूपमा स्थापित भएको चाहिं रातो बाँदर अर्थात् ‘मकाका मुलाट्टा’ हो । यो प्रजातिका बाँदरको एउटा बथानमा करीब २५० सदस्य हुन्छन् । यिनीहरूको एउटा बथान बालीमा पस्यो भने एकै छिनमा सखाप पारिहाल्छन् ।

बाँदर नियन्त्रण प्रयास किन असफल ?

सूचना तथा सन्देश प्रशोधन क्षमतामा सबै जीवहरूमध्ये मानिस र एप (वनमानिस) पछि बाँदर तेस्रो स्थानमा आउँछ । फिलोसिफिकल ट्रान्स एक्सन अफ रोयल सोसाइटी बी  जर्नलमा उल्लेख भएअनुसार ठूलो मष्तिस्क (सेरेब्रमको) कर्टेक्समा भएका स्नायुको संख्या, स्नायुको प्याकिङ घनत्व, स्नायुहरूबीचको दूरी र एक्जोनमा सन्देशको गति आदि कुराको संयोजनले दिमागी क्षमता निर्धारण गर्दछ । तसर्थ, एक-दुई पटक परिआएका घटनाबाट उसले सिकिहाल्छ । 

बठ्याइँमा पछाडि नै भए पनि बाँदरले छिट्टै सिक्छ साथै, अरूको नक्कल गर्न सारै माहिर हुन्छ । त्यसैले टिन ठटाएर बाँदरलाई तर्साउने/भगाउने प्रयास गर्‍यो भने एक/दुईमा कुरो बुझिहाल्छ। भाग्न छोड्छ, मानिस नभएको मौकामा आफैं टिन बजाउन थाल्छ ।

नक्कली बन्दुकको आवाज, मानिसले कहाँसम्म लखेट्छन् भन्ने हेक्का, कुकुरले मानिसको आड पाउँदा मात्र आफूलाई खेदाउँछ। भन्ने ज्ञान उसले एक/दुई दिनका घटनाबाट थाहा पाइहाल्छ । त्यसैले यसलाई नियन्त्रण गर्ने विभिन्न प्रकारका प्रयास सफल भएका छैनन् ।

अर्को महत्त्वपूर्ण कुरा, आफूले जानेको कुरा अरूलाई तुरुन्तै सिकाउँछ। समूहका अन्य सदस्यहरूमा कुनै पनि खबर वा आपत्–विपद्का सन्देश विभिन्न तरिकाले प्रसारण गरिहाल्छ। जस्तै: पुच्छर हल्लाएर, रुखका हाँगा हल्लाएर, विभिन्न प्रकारका आवाज निकालेर, अनुहार र आँखाका माध्यमबाट, ढुंगामाटो फालेर अनि दिसापिसाब आदिका माध्यमबाट। यसो गरेपछि द्रुत सञ्चारमार्फत एकले बुझेको कुरा क्षणभरमै अरूलाई पनि बुझाइदिन्छ, अनि मानिसका प्रयासलाई विफल पारिदिन्छ।

बाँदर किन सफल ?

मानिस र बाँदरका पुर्खा एकै हुन् । आजभन्दा करीब चार करोड वर्षअघि अस्तित्वमा रहेको होमोनोइड्स भनिने बाँदर आकृतिको जनावरबाट क्रमिक विकास हुँदै आउँदा मानिस, वनमानिस (चिम्पाञ्जी) र बाँदर बनेका हुन् । विकास क्रममा धेरै जनावर लोप हुँदै गए, तर समयानुकूल आफ्नो बानी व्यवहारमा परिवर्तन गर्दै आएकोले र आज यति चर्चित तथा मानिसलाई नै चुनौती दिइरहेकोले जीव जगतमा बाँदरलाई सफल जनावर मानिन्छ ।

डार्विनको सिद्धान्तमा भनिएजस्तै बाँदर प्रकृतिको छनोटमा परेको छ, जसका कारण बाँदर सफलतापूर्वक बाँचेको छ। यसका पछाडि धेरै कारण छन्। पहिलो, यसले खाना छनोट र व्यवहारमा ल्याएको सान्दर्भिक परिवर्तन। पहिला यसले रोज्जा, राम्रा, ताजा जंगली खानेकुरा मात्र (त्यसमा पनि फलफूल मात्र) बढी खान्थ्यो। आजकल बाँदरहरूले प्रायः सबै किसिमका वनस्पति, रुख, पोथ्रा, झार, लहराका सबैजसो भाग खान्छन्। साथै उस्तै परेमा किरा, छेपारा र मुसा पनि खान्छन्। माटो चाट्ने, जरा र पानीअमला उखेलेर खाने पनि गर्छन्।

दोस्रो, यो रुखैरुख दगुर्न सक्ने, रुखमै जीवन चलाउन सक्ने अर्बोरियल जनावर हो। तसर्थ भक्षक तथा शत्रु जनावर वा कुनै विपत्तिबाट बाँदर सजिलै उम्कन सक्छ। पहिले सङ्लो मात्र पानी पिउने बाँदरहरूले हाल धमिलो पानी पनि पचाउन थालेका छन्। मानिसले फ्याँकेको फोहोर खाएर पनि यिनीहरूले जीवन चलाउन सकेका छन्। आफैं खोजेर खाने प्रयास नगरी बाँदर चोरी खान पल्केको छ। बाँदर खानपानमा प्राकृतिक धर्म वा नियमलाई छाडेर परिमार्जित र समयसुहाउँदो भएको छ।

बाँदर सिर्जित समस्या समाधान

बाँदरबाट सिर्जित समस्या जटिल छन् । त्यसैले यसको दीर्घकालीन समाधान खोजिनुपर्छ। निम्न उपाय अपनाएर बाँदर नियन्त्रण गर्न सकिन्छ : 

बाँदरको संख्या साँच्चै बढेको हो ? यकिन गरेर केही फटाहा र नाइके बाँदरहरूलाई मार्नुपर्छ, अरूलाई आतंकित पार्नुपर्छ । कुनै न कुनै सदस्य नमारिएसम्म यसले आफ्नो थातथलो छोड्दैन । मार्नका लागि यसअघि जारी भएको नीति पूरापूर आधार बन्दैन भने थप नीति बनाउनुपर्छ। प्रकृतिको नियम हो – सबै सजीव सन्तुलित मात्रामा, आवश्यक मात्रामा हुनुपर्छ। बढी भएमा छानी छानी मार्नु अधर्म होइन । अस्तित्व नाश नहुने गरी एउटा प्रजातिका केहीलाई मार्दा अरूको ज्यान जोगिन्छ भने त्यो गर्नैपर्छ । जस्तै: तराईका शहरमा मच्छड (लामखुट्टे) मार्ने र कुकुर नियन्त्रण गर्ने अभियान नै चल्छ । मलेशिया, जापान, बार्बाडोज, केन्या, श्रीलंका, थाइल्याण्ड, माउरीटियस, भारत र अफ्रिकाका केही देशले विभिन्न कालखण्डमा बाँदर र मानव द्वन्द्व समाधानका लागि बाँदरलाई मारेका छन् । यीमध्ये केही देशले त अहिले पनि उक्त काम गरिरहेका छन् । 

बाँदरको बन्ध्याकरण गर्नुपर्छ । भालेलाई बन्ध्याकरण गर्न सजिलो हुन्छ । बाँदर आतंक फैलिएका धेरै देशले यो तरिका अपनाएका छन् । हङकङ, भारत, थाइल्याण्ड, इन्डोनेशिया आदि देशले यो विधि अपनाएका छन् र सफल पनि भएका छन् । हुलको मुख्य नाइके (अल्फा मेल) ले प्रजनन् प्रक्रियामा एकछत्र राज गर्ने भएकोले त्यसलाई चिनेर बन्ध्याकरण गरिदियो भने सन्तान उत्पादनमा कमी आउँछ । 

जंगली क्षेत्रमा ठूला रुखहरू जोगाउनुपर्छ । ठूला खडा वा लडा रुखहरू निकाल्नु हुँदैन । जंगलमा बर, समी, पीपल, सखुवा र कदमजस्ता ठूला छहारी भएका तथा उचाइ धेरै हुने रुखहरूको संरक्षण गर्नुपर्छ । 

बाँसघारी बाँदरको लागि सुरक्षित तथा उपयुक्त बासस्थान हो । तसर्थ जंगली क्षेत्रमा बाँस रोप्नु र संरक्षण गर्नुपर्छ। 

कृषि कर्ममा पनि परिवर्तन गर्नुपर्छ । बाँदरले मन नपराउने खुर्सानी, अदुवा, बेसार र टिमुरजस्ता बाली लगाउनुपर्छ । 

  • वन क्षेत्रमा वनस्पति समुदायको विविधता हुनुपर्छ। हाम्रा धेरै वन स्थानीय समुदायले चलाउँछन्, जसमा व्यावसायिकता विकास भएको छ । त्यसैले खास उत्पादन दिने किसिमका मात्र सीमित प्रजातिका बिरुवाहरूलाई जोगाउने र अरूलाई जाग्न नदिनेजस्ता क्रियाकलाप देखिन्छन् । यस कुरामा नीति बनाउनेहरूले विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । 
  • जंगलभित्र बाँदरको बासस्थानसम्म मानिसको पहुँच घटाउनुपर्छ। 
  • पहाडी क्षेत्रका खाली घरहरूलाई कुनै न कुनै काममा प्रयोगमा ल्याइनुपर्छ। गाउँघरमा मानिसका गतिविधि बढाउनुपर्छ। जुन घरमा मानिस पुग्दैनन् र बाँदर बसेका छन् त्यहाँ कुनै विद्युतीय वा अन्य प्रविधि जडान गरिनु हुँदैन। 
  • मानिसहरू बाँदरको क्रियाकलाप, प्रजनन कार्य र बानी ब्यहोराबारे सचेत हुनुपर्छ। कुन समयमा र कुन बालीमा बाँदरहरूले बढी आक्रमण गर्छन्, किसान त्यसबारे जानकार हुनुपर्छ।
  • बाँदरलाई स्थानान्तरण गर्ने गरिएको पनि सुनिएको छ । खास गरेर राजमार्ग आसपास यात्रुसँग खानेकुरा प्रतीक्षा गर्ने बाँदर स्थानान्तरित (अरू ठाउँबाट ल्याइएका) हुन सक्छन् ।  यो स्थायी समाधान होइन । कुनै ठाउँबाट बाँदर उठाएर लगियो भने फेरि त्यो ठाउँमा
  • नयाँ हुल आएको पाइएको छ । त्यो हुल बढी आक्रामक र उपद्र्याहा हुन्छ । साथै जहाँ लगिएको छ, उनीहरू त्यहाँको जंगलमा अनुकूलित हुन नसकी बालीमा भर पर्ने वा मागी खाने स्वभाव विकास हुन्छ । 
  • सडक छेउ, मन्दिर या यस्तै सार्वजनिक स्थानमा बाँदरलाई खानेकुरा दिएर पल्काउनु हुँदैन । यस्ता काम यात्रु, पर्यटक र धर्मानुरागी कसैबाट हुनुहुन्न । बाँदरबाट सिर्जित समस्या समाधान गर्न एउटा टोल वा पालिकाले चालेको कदम सफल हुन सक्दैन । यसका लागि राष्ट्रिय नीति बनाएर एकीकृत ढंगले एकैसाथ लागू गर्नुपर्छ ।
  • (नेपालका रातो बाँदरको बासस्थान, बानीव्यहोरा र पोषणबारे विद्यावारिधि गरेका अधिकारी डिग्री क्याम्पस विराटनगरमा प्राणीशास्त्र विभागका प्रमुख हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?