काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका नेता डा. श्री कुँवरले पार्टीको उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्।
रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका कुँवरले पार्टीले प्रतिबद्धता जनाएको ‘प्राइमरी इलेक्सन’ प्रक्रिया अवलम्बन नगरी सिधै उम्मेदवार तोकेको आरोप लगाएका छन्। उनले आन्तरिक लोकतन्त्रको कुरा गर्ने पार्टीले नै खल्तीबाट उम्मेदवार निकाल्ने अभ्यास गरेको भन्दै राजीनामा दिएका हुन्।
उक्त निर्वाचन क्षेत्रमा कुँवरसहित ६ जना आकांक्षी रहे पनि पार्टीले बालेन शाहका पूर्वसल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको निर्णयप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। यो निर्णयले पार्टीभित्रको पारदर्शिता र आन्तरिक अभ्यासमाथि प्रश्न उठाएको कुँवरको भनाइ छ।
रास्वपाको यो निर्णयपछि रुपन्देहीमा मात्र होइन, देशभर पार्टीको उम्मेदवार छनोट प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे बहस सुरु भएको छ। पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै राजीनामा र विरोधका आवाजहरू उठ्दै आएका छन्।यस विषयमा रास्वपाको केन्द्रीय नेतृत्वले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।


