
- कावासोतीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
कावासोती नगरपालिका–८ फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ करिब ६ः४६ बजे बाटो काट्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल कावासोती–११ कुडौली बस्ने ३२ वर्षीय सूर्य बी.सी. र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २४/२५ वर्षीया पुष्पा चौहान घाइते भएका छन्। पुष्पालाई उपचारका लागि नवलपुर अस्पताल लगिएकोमा थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकलमा सवार पुष्पाकी १६/१७ महिनाकी छोरीको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा साँझ ७ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। बालिकाको नामथर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र ट्रक चालक बारा सिमरा उपमहानगरपालिका–१४ का करिब ३० वर्षीय सौरभ खतिवडालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


