आज मिति २०८२ आश्विन ३० गते बिहीवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:

आज नेपालमा सूर्योदय,बिहान ०५:५० बजे हुनेछ भने सूर्यास्त,साँझ ०५:२८ बजे हुनेछ, चन्द्रास्त,दिउँसो १२:४५ बजे र चन्द्रोदय,मध्यरात्रीपछि १२:२९बजे हुनेछ।

मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्‌ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।

बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ ।

मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।

सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ, बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ ।

कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ ।

तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो ।

बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ ।

धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।

मकर ~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्‌ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्‌नु जाती हुन्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्‌नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ ।

मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।

ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?