
- हेटौंडामा विद्यालयबाट घर फर्किने क्रममा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
- घटनामा दुई बालिका बेपत्ता भएका छन् भने एक बालिका सकुशल निस्कन सफल भएकी छिन्।
- बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएकी छन् । यस्तै, एक बालिका खोलाबाट आफैं निस्कन सफल भएकी छन् ।
मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ
बगेकामध्ये हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङ करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् ।
उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनीता भोलन भने बेपत्ता छिन् ।
उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । खोलाले बगाएकी सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने आफै खोलाबाट निस्कन सफल भएको प्रहरीले जनाएको छ ।
उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लैजाँदै गरिएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ

