लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई अवैध रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै यो मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार कार्यालयमा लिखित र प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका १३ जनालाई गैरकानूनी रूपमा लाइसेन्स उपलब्ध गराइ भ्रष्टाचार गरिएको खुलेको छ।
प्रतिवादीहरूले गलत लिखत तयार पार्ने, सरकारी कागजात सच्याउने तथा परीक्षाको नतिजा फेरबदल गर्नेजस्ता गम्भीर अनियमितता गरेको पाइएको छ। सोही कसुरमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।


