
अर्घाखाचीमा टिप्पर र EV आतङ्क : सडकमा बढ्दो जोखिम।
हिजो बुटवलतिर झर्दै गर्दा सुपा–पत्थरकोटबीच भेटिएका सयौँ टिप्परको गतीले मनै दह्रो भयो। पहाडी सडकमा बुलेट ट्रेनजस्तै स्पीडमा उडिरहेका ती टिप्परहरू, कतिपय त ५–६ वटा लगातारै जोडिएझैँ।साघुरो बाटोमा यस्ता भारी गाडी गुड्दा अन्य सवारी साधनलाई त साइड दिनै गाह्रो, विपरीत दिशाबाट आउनेले त “जोगिए पो बाँचिन्छ” भन्ने अवस्था।
सडक संरचना र भार
अर्घाखाचीका सडकहरू पहाड काटेर बनाइएका, कमजोर भौगोलिक संरचना भएका। तर टिप्परहरूले बोकेको अत्यधिक भारले २–३ महिनामै नयाँ बनाइएका बाटो भत्किन्छन्, भत्केका ठाउँ–ठाउँमा खाल्डाखुल्डी। त्यसैमा झन् चाडपर्व नजिकिँदै गर्दा सवारी साधनको चाप दोब्बर भएको छ। सार्वजनिक भन्दा बढी निजी साधन प्रयोग गर्ने यात्रु बढेकाले जोखिम अझै बढेको छ।
EV को तीव्र गती
आजभोलि EV (विद्युतिय गाडी) को संख्या पनि उल्लेख्य मात्रामा बढेको छ। ती गाडीका चालकहरू ‘बुटवल–सन्धिखर्क २ घण्टामै पुगिन्छ’ भन्दै गर्व गर्छन्। तर त्यो गति यात्रुको जीवनसँग खेलवाडजस्तै हो। तेज गती, जोखिमपूर्ण ओभरटेकिङ, र दुर्घटनाको सम्भावना तिनले झन् बढाइरहेका छन्।
नियमन निकायको कमजोरी
नरपानी, ठाडा, डोहोटे, पत्थरकोटमा प्रहरी पोस्ट छन्। तर प्रश्न उठ्छ – ती पोस्टमा बसेकाहरू के हेरेर बसिरहेका छन्?
• टाइम कार्ड छैन।
• सवारी चेकजाँच छैन।
• भार क्षमता नियमन छैन।
• स्पीड नियन्त्रक छैन।
के आदेश र निर्देशन पर्खेर मात्र बसेका हुन्? कि फेरि यातायात व्यवसायीसँग मिलेमतो छ?
यात्रुमा मनोवैज्ञानिक डर
गाडी चढेपछि गन्तव्यमा पुगुन्जेल परिवार र आफन्त पीरोलिन्छन्। कारण– अर्घाखाचीमा पटक–पटक अकल्पनीय दुर्घटनाहरू भइसकेका छन्। तर पनि ‘दुर्घटना घट्छ’ भन्नेमा मात्र सीमित समाचार, रोकथामका लागि प्रभावकारी कदम भने देखिँदैनन्।
थप सवालहरू
• सडक क्षमता अनुसार सवारी साधन किन सीमित छैनन्?
• भार तौल नियमन गर्ने उपकरण किन जडान गरिएको छैन?
• स्पीड गन, CCTV, डिजिटल टाइम कार्ड किन छैन?
• स्थानीय प्रशासन र जनप्रतिनिधि किन मौन छन्?
• प्रहरी किन कानमा तेल हालेर बसिरहेको छ?
अर्घाखाचीका सडकमा आज “टिप्पर र EV आतङ्क” मात्र होइन, नियमन निकायको उदासीनता पनि ठूला दुर्घटनाको कारण बन्दै गएको छ। यात्रु मात्र होइन, गाउँ–शहरका सर्वसाधारण पैदलयात्री समेत त्रासमा बाँचिरहेका छन्। अब ढिलै भए पनि स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, प्रहरी, जनप्रतिनिधि र नागरिक समाजले संयुक्त रुपमा कदम नचाल्ने हो भने, भोलिका दुर्घटनाहरू ‘दुर्भाग्य’ होइन ‘लापरबाही’ का नाममा दर्ज हुनेछन्।


