
- अर्घाखाँचीको सुपा देउराली झोलुङ्गे पुल परिसरमा बागमारा सामुदायिक क्लबको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भयो।
- स्थानीय युवा तथा समाजसेवीहरूको सक्रिय सहभागिताले धार्मिक पर्यटकीय स्थलको स्वच्छता र संरक्षणमा टेवा पुर्याएको छ।
- कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाताहरूलाई क्लबले धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य जारी राख्ने जनाएको छ।
(नेपाल प्रेसखबर अर्घाखाँची) |
अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र सुपा देउरालीस्थित झोलुङ्गे पुल परिसरमा असार १५ गते पूर्वनिर्धारित सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बागमारा सामुदायिक क्लब समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले झोलुङ्गे पुल तथा वरपरको क्षेत्र सफा गर्दै वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण र धार्मिक पर्यटकीय स्थललाई स्वच्छ राख्ने अभियानमा महत्वपूर्ण योगदान दिएका थिए। सरसफाइ अभियानले समुदायमा सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष रामबहादुर थापाले दिएको जानकारी अनुसार: कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाले आवश्यक सामग्री सहयोग गरेका थिए। प्रत्येक सामाजिक अभियानमा निरन्तर बोर्ड उपलब्ध गराउँदै सहयोग गर्ने मिश्र सप्लायर्स, सन्धिखर्क प्रति क्लबले विशेष आभार व्यक्त गरेको छ। त्यसैगरी गोविन्द खत्री ले ५ वटा ड्रम तथा देउराली क्याम्प फायर, नरपानी ले पनि ५ वटा ड्रम सहयोग गरी अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
बागमारा सामुदायिक क्लब समितिले सामाजिक तथा वातावरणीय अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, सहभागी, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। समितिले आगामी दिनमा पनि यस्ता सामाजिक, वातावरणीय तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिँदै सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको जनाएको छ।
बागमारा सामुदायिक क्लब परिवारले सम्पूर्ण सहभागी, सहयोगदाता तथा शुभेच्छुकहरूलाई बागमारा समुदायिक युवा क्लबले धन्यवाद तथा आभार प्रकट गरेको छ।

