आज विश्व सिमसार दिवस: सिमसार संरक्षणका लागि विश्वभर कार्यक्रम

आज विश्वभर विश्व सिमसार दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। मानवीय अतिक्रमण, प्रदूषण र अव्यवस्थित विकासका कारण सिमसार क्षेत्रहरू संकटमा पर्दै गएको भन्दै तिनको संरक्षण तथा महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

सिमसार (Wetland) प्रकृतिको अमूल्य सम्पदा हो, जहाँ पानी, वनस्पति र जीवजन्तुबीचको सन्तुलनले जीवनलाई निरन्तरता दिन्छ। सिमसारले भूमिगत पानी बढाउन, बाढी नियन्त्रण गर्न, वातावरण स्वच्छ राख्न र जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ। नेपालका प्रमुख सिमसार क्षेत्रहरूमध्ये कपिलवस्तु जिल्लामा रहेको जगदीशपुर ताल अत्यन्तै महत्वपूर्ण सिमसार हो। मानवद्वारा निर्मित नेपालकै ठूलो सिमसार तालका रूपमा चिनिने यो ताल विभिन्न चराचुरुङ्गी, जलचर, माछा तथा अन्य वन्यजन्तुहरूको सुरक्षित बासस्थान बनेको छ। विशेष गरी जाडो मौसममा यहाँ आउने आप्रवासी चराहरूले जगदीशपुर ताललाई अझ आकर्षक र जैविक रूपमा धनी बनाउँछन्।

तर पछिल्लो समय प्रदूषण, अतिक्रमण, पानीको स्रोत घट्नु र मानव गतिविधिका कारण सिमसार क्षेत्रहरू जोखिममा परिरहेका छन्। त्यसैले आजको दिन हामी सबैले जगदीशपुर तालजस्ता सिमसार क्षेत्रको संरक्षण, सफाइ, जनचेतना वृद्धि र दिगो उपयोगमा सक्रिय भूमिका खेल्नुपर्छ। सिमसार बचाऔँ, जैविक विविधता जोगाऔँ, र भविष्य सुरक्षित बनाऔँ।

नेपालको राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार तराईका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प तथा २८ प्रजातिका माछा पाइन्छन्।

सिमसारले जैविक विविधता संरक्षण मात्र होइन, बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टिजस्ता प्राकृतिक विपद् नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। विश्वका करिब ३ अर्ब जनसङ्ख्याले खाने चामल उत्पादन हुने दलदले माटो समेत सिमसार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित छ।नेपालका हालसम्म १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन्। नेपालमा ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा कोशी टप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा सूचीकृत गरिएको थियो।

रामसार सूचीमा कोशीटप्पुसहित बिसहजारी ताल, घोडाघोडी ताल, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड, गोक्यो ताल, माइ पोखरी तथा पोखरा उपत्यकाका तालहरू सूचीकृत छन्।तर पछिल्लो समय ती क्षेत्रहरू अतिक्रमण र प्रदूषणका कारण मासिँदै गएको भन्दै संरक्षणमा थप ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

विश्व सिमसार दिवसले सिमसार क्षेत्रको दीगो संरक्षण गर्दै प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्न सबैलाई जिम्मेवार बन्न आग्रह गर्दछ।

नवलपरासी बर्दघाट-१० स्थित बाउन्न घोला सिमसारको मनमोहक दृश्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?