बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई नियन्त्रण गर्न सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सहित सबै प्रकारका नयाँ सार्वजनिक सवारी दर्ता तत्काल रोक्न निर्देशन दिएको हो।
विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन नहुँदा आवागमनमा कठिनाइ बढ्दै गएको छ। इन्धनको मूल्यवृद्धि र सवारी साधनको अत्यधिक चापले सिर्जना गरेको असहज अवस्थालाई समाधान गर्न दर्ता रोक्ने निर्णय गरिएको उल्लेख छ।
विभागले यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार गरिएको जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार वातावरणीय प्रभाव, सडक क्षमता र सार्वजनिक हितलाई ध्यानमा राख्दै सवारी दर्ता रोक्न सकिने प्रावधान छ।
सरकारले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय लागू रहने स्पष्ट पारेको छ। यससँगै अब देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया पूर्ण रूपमा रोकिएको छ।


