
- बुटवलको अटोभिलेज मर्मत केन्द्र मात्र नभएर पुराना र क्षतिग्रस्त सवारी साधनको डम्पिङ साइट बनेको छ।
- बैंकको स्वामित्वमा रहेका कारण वर्षौँदेखि थन्किएका ५० भन्दा बढी गाडीहरू हटाउन समस्या भएको छ।
- व्यवस्थित रूपमा स्थापना गरिएको यो अटोभिलेजमा हाल ९ सय व्यवसायी र १० हजार मजदुर कार्यरत छन्।
बुटवल गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित ‘अटोभिलेज’ सवारी मर्मत स्थल मात्र होइन, पुराना सवारीको डम्पिङ साइट पनि बनेको छ ।
दुर्घटनामा परेपछि मर्मत हुन नसकेका एक्साभेटर, टिप्पर, ट्रक, भ्यान, ट्याक्सी, जीप वर्षौँदेखि यहीँ थन्किएका छन् ।
२०५५ सालतिर अटोभिलेज निर्माणका क्रममा जग्गा सम्याउन आएको डोजरदेखि जेन–जी आन्दोलनमा जलेका सवारी अटोभिलेजमा देखिन्छ ।
५० भन्दा बढी सवारी डम्पिङ गर्नुपरेको बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले बताए ।
उनकाअनुसार बैंकको नाममा रहेकाले थन्किएका गाडी एसोसिएसनले बिक्री तथा नष्ट गर्न पाएको छैन ।
बुटवलमा छरिएर रहेका व्यवसायीलाई एकैठाउँमा व्यवस्थित गर्ने उद्देश्यले २०५७ सालमा अटोभिलेज बनाइएको थियो ।
देशकै पहिलो ‘अटोभिलेज’मा करिब १० हजारको संख्यामा मजदुर तथा प्राविधिकले काम गर्छन् । यहाँ ९ सयको हारहारीमा अटो व्यवसायी छन् ।

