
- नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ४२ महिनापछि थुनामुक्त भएका छन्।
- ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनलाई डिल्लीबजार कारागारबाट रिहा गरिएको हो।
- रिहा भएपछि उनी हाल काठमाडौँमा आराम गरिरहेका छन् र केही दिनमा आफ्नो गृहजिल्ला अर्घाखाँची जाने तयारीमा छन्।
काठमाडौँ । नेकपा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० साल वैशाख ३१ गते पक्राउ परेका रायमाझी करिब ४२ महिना जेल बसेपछि कात्तिक २६ गते बिहीबार थुनामुक्त भएका हुन् ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए । तर, ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी झन्डै ४२ महिनापछि बिहीबार बिहान थुनामुक्त भएका हुन् ।
सुविधाअनुसार कात्तिक २५ गते बुधबार नै समय पूरा भए पनि रायमाझी बिहीबार बिहान मात्र डिल्लीबजार कारागारबाट निस्केर छिन्नमस्ता मन्दिरको दर्शन गरी ललितपुरको सातदोबाटोस्थित निवासतर्फ लागेका हुन् ।
टोपबहादुर रायमाझी रिहा भएकै दिन ज्ञानेन्द्र शाहीको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान खोइ ?
२०८० साल वैशाख २० गते गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी सार्वजनिक भएपछि त्यसै दिन काठमाडौँ आएर प्रहरीलाई सघाउने बताएका रायमाझी त्यो दिन काठमाडौँ नआएपछि वैशाख २१ गते उनलाई पक्राउ गर्न प्रहरी टोली अर्घाखाँची पुगेको थियो । तर, उनले आफैँ प्रहरीसमक्ष उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी रित्तो हात फर्किएको थियो । त्यसपछि रायमाझी प्रहरीलाई झुक्याएर १० दिनसम्म फरार भएका थिए । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । रायमाझी पक्राउ पर्नुभन्दा चार दिनअघि पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले भुटानी शरणार्थी प्रकरणमै पक्राउ गरेको थियो ।
थुनामुक्त भएका रायमाझी केही दिन काठमाडौँमै रहने पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि उनी केही दिनका लागि गृहजिल्ला अर्घाखाँची जाने तयारीमा छन् । रायमाझी निकट लिला जिसीले भने, ‘अब केही दिन यहीँ आराम गर्नुहुन्छ, त्यसपछि गृहजिल्ला जानुहुन्छ । त्यसबाहेक तत्काल अरू कुनै कार्यक्रम रहेको छैन ।’
काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझी कैदमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित उच्च राजनीतिक तथा उच्च तहका सरकारी कर्मचारीसमेत मुछिएका थिए ।
कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीका-माला लगाएर स्वागत गरेका छन् । रायमाझी थुनामुक्त भएसँगै उनले राजनीतिक तथा सार्वजनिक जीवनमा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने चासो बढेको छ ।
२०७८ सालमा भएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमार्फत सचिव र २०७९ को संसदीय निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझी पक्राउपछि दुवै पदबाट निलम्बनमा परेका थिए । रायमाझी जेलमै रहेका बेला एमालेले ११औँ महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको छ भने २०८२ फागुनमा संसदीय निर्वाचनसमेत भइसकेको छ ।
रायमाझी थुनामुक्त भए पनि नेकपा एमालेले उनीबारे कुनै छलफल र निर्णय गरिनसकेको नेताहरूले बताएका छन् ।
‘उहाँ (टोपबहादुर रायमाझी) थुनामुक्त भएर घर फर्किनुभएको छ । अब पार्टी नेतृत्वले आवश्यक छलफल गरेर उपयुक्त जिम्मेवारी दिने या नदिने भन्ने विषयमा कुराकानी होला’, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यको भनाइ छ ।
रायमाझी निकटस्थहरूका अनुसार उनी अर्घाखाँचीबाट फर्केर पुनरावेदनको तयारीमा लाग्नेछन् ।


