
- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेपछि विद्यालय समायोजन र दरबन्दी मिलानको प्रक्रिया थालेको छ।
- शैक्षिक गुणस्तर सुधारका लागि नगर उपप्रमुखको नेतृत्वमा गठित कार्यदलले स्थलगत अनुगमन गरी सरोकारवालाहरूसँग राय–सुझाव संकलन गरेको छ।
- संकलित सुझावका आधारमा प्रतिवेदन तयार गरी नगरपालिकाले विद्यार्थी संख्या र आवश्यकता अनुसार विद्यालय तथा शिक्षकको उचित व्यवस्थापन गर्ने भएको छ।
अर्घाखाँची, असार ८ नेपाल प्रेस खबर
पछिल्लो समय जन्मदरमा आएको कमी, बसाइँसराइ लगायतका कारण सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गए पनि विद्यालय, कक्षा तथा शिक्षक दरबन्दी यथावत् रहँदा तथा कतिपय विद्यालयमा आवश्यक विषयगत शिक्षकको अभाव देखिँदा शैक्षिक गुणस्तर सुधारमा चुनौती थपिएको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धी राय–सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।
शैक्षिक क्षेत्रको वर्तमान अवस्थालाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षामा सुधार ल्याउने उद्देश्यसहित नगरपालिकाले नगर उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले नगरभित्रका विद्यालयहरूको स्थलगत अनुगमन गरी वास्तविक तथ्यांक संकलन गर्ने कार्य सम्पन्न गरेको छ भने प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ।
सोही सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षक व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझावहरूलाई समेटेर कार्यदलले अन्तिम प्रतिवेदन तयार गरी आवश्यक निर्णय प्रक्रियाका लागि नगरपालिकामा पेश गर्ने जनाएको छ।
नगरपालिकाले विद्यार्थी संख्या, भौगोलिक अवस्था तथा शैक्षिक आवश्यकतालाई आधार मानेर विद्यालय तथा शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

