पशुपतिनाथ प्रवेश विवाद : इटहरीकी प्रियंका र ओसिम अन्सारी पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पशुपतिनाथ मन्दिरमा गैर–हिन्दू प्रवेश गरेको भिडियो सार्वजनिक भएपछि प्रियंका परियार र ओसिम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई काठमाडौं पठाएको छ।
  • उक्त दम्पती मन्दिरको कति भित्रसम्म पुगेको हो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।
  • घटनापछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै गृह मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले छानबिन अघि बढाएका छन्।

काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य परिसरमा गैर–हिन्दू प्रवेश गरेको विषयमा विवादमा तानिएका इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसिम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं पठाएको छ।
प्रहरी स्रोतका अनुसार उनीहरूलाई मंगलबार राति इटहरीको गैसार क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। बुधबार बिहान विराटनगर विमानस्थलबाट हवाईजहाजमार्फत काठमाडौं पठाइएको जनाइएको छ।


पशुपतिनाथ मन्दिरमा गैर–हिन्दूलाई प्रवेश निषेध गरिएको अवस्थामा अन्सारीसहितको जोडी मन्दिर परिसरमा पुगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो। सार्वजनिक भिडियोमा उनीहरू पशुपति क्षेत्रका विभिन्न स्थानमा पुगेको देखिन्छ।


प्रियंकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफू नेपाली नागरिक भएको र आफ्नै इच्छाले श्रीमान् ओसिमलाई पशुपतिनाथ मन्दिर लैजान खोजेको बताएकी छन्। उनले आफूहरूलाई सुरक्षाकर्मीले मन्दिरको भित्री भागमा प्रवेश गर्न नदिई फर्काएको दाबी गरेकी छन्।

तर, उनीहरू मन्दिरको कुन भागसम्म पुगेका थिए र मूल मन्दिरमा प्रवेश गरे वा गरेनन् भन्ने विषयमा भने विस्तृत आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। घटनापछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।
पशुपति क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा अन्य कर्मचारी परिचालन हुनुका साथै विभिन्न स्थानमा सीसीटीभीसमेत जडान गरिएको अवस्थामा निषेधित प्रवेश कसरी सम्भव भयो भन्ने प्रश्न उठेको हो।


घटना सार्वजनिक भएपछि गृह मन्त्रालयको निर्देशनमा छानबिन प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले समेत घटनाबारे छुट्टै छानबिन अघि बढाएको बताइएको छ। घटनाका बेला ड्युटीमा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीसँग सोधपुछ भइरहेको जनाइएको छ।


यस घटनालाई लिएर धार्मिक आस्था, मन्दिरको प्रवेशसम्बन्धी नियम, सुरक्षा व्यवस्थापन र सामाजिक सञ्जालको प्रयोगबारे विभिन्न बहससमेत सुरु भएको छ। वास्तविकता भने सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक विवरणपछि थप स्पष्ट हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?