
- अर्घाखाँचीको पोखेडाँडामा आधुनिकताका बाबजुद पनि महिलाहरूले परम्परागत शैली र मौलिक तीज गीतलाई निरन्तरता दिँदै आएका छन्।
- विभिन्न जिल्लाबाट हजारौंको संख्यामा भेला भएका दिदीबहिनीहरूले दुःख–सुख साटासाट गर्दै सामूहिक नाचगानमार्फत सामाजिक एकता र सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन्।
- यस वर्षको तीज मेलाको दृश्यले बढ्दो आधुनिकता र तडकभडकका बीचमा पनि मौलिक संस्कृतिप्रति नयाँ पुस्ताको मोह र आकर्षण कायमै रहेको पुष्टि गरेको छ।
- गङ्गासागर खड्का |
° नेपाल प्रेसखबर अर्घाखाँची °
आधुनिकता र बदलिँदो जीवनशैली सँगै तीज मनाउने शैलीमा परिवर्तन आए पनि अर्घाखाँचीको पोखेडामा भने तीजको मौलिकता र पुरानो रौनक अझै पनि उस्तै देखिन्छ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं – ८ मा पर्ने (पोखेडाँडामा) यसपाली पनि तीजको अवसरमा महिला दिदीबहिनीहरू भेला भएर परम्परागत भाकामा तीजका गीत गाउँदै, नाच्दै र सुख–दुःख साटासाट गर्दै व्यापक उपस्थितिको बिच तिज पर्व मनाए । रातो सारी, हरिया चुरा र गरगहनामा सजिएका महिलाहरूको उपस्थितिले गाउँको वातावरण नै तीजमय बनेको देखियो | प्राय गरेर अर्घाखाँचीको पश्चिम क्षेत्रका विभिन्न ठाउँबाट पोखेडाडामा तीजको चलपल र नाचगान हेर्न हज्जारौं दर्शक आउने गर्छन्। प्युठान , गुल्मी लगायत अर्घाखाँचीका विभिन्न ठाउँबाट पखेडाँडाको तीज हेर्न पुग्नेहरूको सङ्ख्या अहिले पनि बढ्दो क्रममा देखियो। यो ठाउँमा सधियौँ देखि तीजको लागि अर्घाखाँचीको मुटु मान्ने गरिन्छ । तिजको रमझम व्यापार र यस समयमा उत्पादन हुने केरा लगायत अन्य फलफुलको बिक्री वितरण झन् लोभलाग्दो देखिन्छ । रातो सारी पहेलो झपक्क गरगना र महिला दिदीबहिनीको अनुहारमा देखिने उमङ्गले यो तीज मेला अझ सुन्न सुगन्ध थपे जस्तो देखिन्छ । प्राय गरेर जिल्लाको खिल्जी, असरकोट, किमडाँडा, अर्घा, धारापानी, नुवाकोट, धनचौर, ढिकुरा, सन्धिखर्कबाट यहाँ तीजको राम हेर्न आउनेहरूको सङ्ख्या अत्याधिक रहँदै आएको छ।
तीज केवल मनोरञ्जन र नाचगानको पर्व मात्र नभई नेपाली महिलाको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्तिको पर्वका रूपमा समेत लिइन्छ। विगतमा गाउँघरमा माइती आएका चेलीबेटी तथा दिदीबहिनीहरू भेला भएर दुःख, पीडा, परिवार र समाजका विषयलाई गीतमार्फत व्यक्त गर्ने चलन थियो। पोखेडाडा र गाउँघरमा अहिले पनि त्यसको झल्को देख्न पाइन्छ।
पछिल्लो समय तीजका गीत र नाचगानमा आधुनिकताको प्रभाव बढ्दै गए पनि पोखेडाका महिलाहरूले भने स्थानीय संस्कृति, परम्परा र मौलिक तीज गीतलाई निरन्तरता दिँदै आएका छन्। यसले नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूको भनाइ छ।
तीजको अवसरमा गाउँमा देखिने आपसी भेटघाट, आत्मीयता, हाँसो–खुसी र सामूहिक नाचगानले पोखेडाको सामाजिक एकता र सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ।
परम्परा बदलिँदो समयसँगै रूप फेरिए पनि संस्कृति र मौलिकताको माया भने पुस्तौँसम्म जीवित रहन्छ भन्ने उदाहरण बनेको छ—पोखेडाको तीज।
यो ठाउँमा पाका पुस्ताहरूको निकै अविस्मरणीय अनुभव रहेको त्यहाँका स्थानीयहरू बताउँछन्। तिजको बेलामा यो ठाउँमा पुगे स्वर्गको अनुभव गर्न सकिन्छ भन्ने पाका पुस्ताहरूको भनाई रहँदै आएको छ। प्राय गरेर माइती देशका दिदीबहिनीहरू विवाह गरी आफ्नो घरमा गएपछि बर्षौ देखि भेट नभएका दिदी बहिनीहरू यो ठाउँमा पुगेपछी वर्षौंपछि भेट भएर विगत र अतितलाई सम्झिदै दुःख र सुख साटासाट गर्ने थलो पनि पोखेडाँडा रहेको छ । यो ठाउँमा सम्भवत पश्चिम नेपालमै सबैभन्दा धेरै दर्शक उपस्थिति हुने आकलन गर्न सकिन्छ । त्यहाँ बजाइने मादल अर्घाखाँचीका विभिन्न ठाउँका बादी समुदायहरूले बनाएको पाइन्छ। ती मादलहरू को आवाज गुन्जाइमान र निकै लामो दुरीसम्म सुनिने हुन्छ । मादलको तालमै अनेकौं दुःख पीडा बिर्सिएर त्यहाँ एकफनको ननाच्ने सायदै कम होलान ।
तर फाट्टफुट्ट डिजिटल साउन्डको गन्धले भने संस्कृतिलाई थोरै भएपनि चुनौती दिइरहेको देखिन्थ्यो।थोरै भएपनि चुनौती दिइरहेको देखिन्थ्यो।
पछिल्लो समय बढ्दै गरेको सामाजिक सञ्जालको तडकभडक र आधुनिकता लाई भने यसपालिको पोखेडाडा तीजले फेरि एकपटक विगतलाई सम्झाउन बाध्य बनाएको छ। सोही ठाउँबाट यसपाली पनी अर्घाखाँचीका विभिन्न संचार माध्यमहरूले प्रत्यक्ष प्रसारण ( live ) गरी देश र विदेशमा छरिएर रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई प्रत्यक्ष हेर्ने र नजिकै रहे जस्तो भएर अवलोकन गर्ने अवसर मिल्यो ।
( खड्का नेपाल प्रेस खबरका संवादाता तथा कार्यक्रम प्रस्तोता हुन )


