
- अर्घाखाँचीको सन्धिखर्क-१२ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।
- ढालबहादुर खड्काको नेतृत्वमा नयाँ वडा सभापति चयन हुनुभएको छ।
- अन्य पदाधिकारी चयन गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ।
अर्घाखाँची । नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ मा वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट ढालबहादुर खड्का वडा सभापतिमा चयन भएका छन्। वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको टुंगो भने कार्यदलमार्फत लगाउने सहमति भएको जनाइएको छ।
अधिवेशनबाट अन्य पदमा सहमति कायम गर्न ढालबहादुर खड्काको अध्यक्षतामा चार सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले बाँकी पदाधिकारी तथा सदस्यहरूको चयन तथा व्यवस्थापन गर्ने बताइएको छ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जनसेर मियाँ, नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष हरिबहादुर खड्का, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष भरत भट्टराई, तरुण दल क्षेत्रीय अध्यक्ष मोती न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनमा सहभागी नेताहरूले पार्टीको संगठनलाई वडा तहदेखि नै थप मजबुत बनाउँदै आगामी दिनमा पार्टीलाई एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो। अधिवेशनले वडा तहमा नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।


