
- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदैछन्।
- ज्येष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत कैद छुट पाएपछि उनी रिहा हुन लागेका हुन्।
- अदालतको आदेशपछि डिल्लीबजार कारागारबाट उनलाई मुक्त गर्न लागिएको हो।
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुने भएका छन्। कैद सजाय भुक्तान गरी उनी रिहा हुन लागेका हुन्।
कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा २५ प्रतिशत कैद छुट पाएर उनी रिहा हुन लागेका हुन्।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिकले कैदमा २५ प्रतिशत छुट पाउने प्राधवान छ।
जिल्ला अदालत, काठमाडौंले सो छुट दिन आदेश भएसँगै उनी रिहा हुने भएका हुन्। सरकारले पनि दुई महिनाअघि कारागार नियमावली संशोधन गरी ज्येष्ठ नागरिक ऐनअनुसार सुविधा दिने प्रावधान समेटेको थियो।
उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्ष कैद सजाय भएको छ। उनी ०८० को वैशाखदेखि कारागारमा छन्। अदालतको आदेशअनुसार उनलाई २६ गते बिहीबार रिहा गरिने डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेले बताए।


