
- कपिलवस्तुको ठकुरापुर प्रहरी चौकीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
- प्रहरी र स्थानीयवासीले वातावरण संरक्षणका लागि सामूहिक रूपमा बिरुवा रोपेका छन्।
- यसले समुदाय र प्रहरीबीचको सहकार्य बलियो बनाई हरियाली प्रवर्द्धन गर्नेछ।
लालु चौधरी कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिका–५ स्थित ठकुरापुर प्रहरी चौकीमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रहरी कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका क्रममा प्रहरी कर्मचारी र स्थानीयवासीले सामूहिक रूपमा बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैको साझा भूमिका रहने सन्देश दिएका थिए। समुदाय–प्रहरी साझेदारीलाई थप मजबुत बनाउँदै सामाजिक तथा वातावरणीय अभियानमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
वृक्षरोपण कार्यक्रममा सहभागीहरूले “वृक्षरोपण गरौँ, वातावरण जोगाऔँ, हरियाली फैलाऔँ” भन्ने सन्देशसहित वातावरण संरक्षणमा स्थानीय समुदायलाई सक्रिय हुन आग्रह गरेका छन्।
कार्यक्रमले स्थानीय स्तरमा हरियाली विस्तारसँगै समुदाय र प्रहरीबीचको सहकार्यलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

