
- झापाका कुलबहादुर दर्जीको जग्गा हडप्न परिवार र वडा कार्यालयको मिलोमतोमा उनको झुटो मृत्युदर्ता बनाइयो।
- घर फर्किएका कुलबहादुरलाई परिवारले नै ज्यान मार्ने धम्की दिएपछि उनी असुरक्षित जीवन बिताउन बाध्य छन्।
- आफ्नो अस्तित्व पुनःस्थापना र दोषीमाथि कारबाहीको माग गर्दै उनी अहिले न्यायका लागि भौंतारिरहेका छन्।

संसारमा यस्तो पनि हुँदो रहेछ ! झापा गौरादहका ५९ वर्षीय कुलबहादुर दर्जी आज आफ्नै ‘मृत्युदर्ता’को प्रमाणपत्र हातमा बोकेर ‘म जिउँदै छु’ भन्दै न्यायको ढोका ढकढक्याइरहेका छन् ।कामको खोजीमा परदेश (भारत) गएका बेला आफ्नै परिवार, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा उनको मृत्युदर्ता गरियो । उद्देश्य मात्र एउटै थियो— उनको नाममा रहेको ११ कट्ठा जग्गा हडपेर बेच्नु ।
श्रीमती र छोराले भारतमा मृत्यु भएको झुटो विवरण दिई मृत्युदर्ता बनाएर जग्गा नामसारी गरी बिक्री गरे।सामान्य सोधपुछ र प्रमाण बिना नै वडा कार्यालयले मृत्युदर्ता जारी गरिदियो । २०८२ जेठमा घर फर्किँदा उनी अचम्मित परे । अहिले उनी आफ्नै परिवारबाट असुरक्षित छन् र ज्यान जोगाउन लुकेर बस्नुपरेको छ ।’मरेको मान्छे मार्दा केही हुँदैन’ भन्दै परिवारले खुकुरी देखाएर धम्क्याउनु मानवताको कुन हद हो ? जग्गा र पैसाका लागि एउटा जिउँदो मान्छेको अस्तित्व नै मेटाउने प्रयास हुनु निकै लज्जास्पद र विडम्बनापूर्ण छ ।के पैसा नै सबैथोक हो ? के मानवीय नाता र कानुनी मर्यादाको कुनै मूल्य छैन ? दोषीलाई कडा कारबाही होस् र कुलबहादुर दर्जीले छिटोभन्दा छिटो न्याय पाऊन् !

