
- सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा हेल्मेट नलगाई उभिएर यात्रा गरेको भिडियो भाइरल भएको छ।
- सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ।
- सांसद गुप्ताले आफ्नो गल्ती स्वीकार गर्दै ट्राफिक जरिवाना तिर्न मोटरसाइकल प्रहरी कार्यालय पठाएको बताएका छन्।
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक भएको सो भिडियो रास्वपाबाट सिरहा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बब्लु गुप्ता आलोचनामा परेका छन् ।
सिरहा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ।
भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएपछि सडक सुरक्षाका आधारभूत नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गर्दै जोखिमपूर्ण शैलीमा यात्रा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन्।
सांसदजस्ता जिम्मेवार व्यक्तिले नियम पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने उनीहरूको टिप्पणी छ। कतिपयले यस्तो गतिविधिले सर्वसाधारणमा गलत सन्देश जाने बताएका छन्।
घटनाबारे नेपाल प्रेससँग कुरा गर्दै सांसद गुप्ताले ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही स्वीकार गर्न आफू तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकललाई जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिए।
बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु,’ उनले भने, ‘हामी एक कार्यक्रमका लागि भसुवातर्फ जाँदै थियौं। यसमा अरू विशेष कुरा छैन।’
सांसद गुप्ताको भिडियो भने अहिले पनि सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ।

