
- सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालमा धम्की र दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भरतपुरका तेजेन्द्रप्रसाद पौडेल र बुटवलका अभि घिमिरे रहेका छन्।
- साइबर ब्युरोको पहिचानका आधारमा चितवन प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ।
चितवन । सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेकाे अभियोगमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट धम्की दिने तथा चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेका भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।
पौडल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनको संयन्त्रको भूमिकामा नभएपनि उनी पार्टीको सदस्य रहेको जिल्ला पार्टी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयल चितवन स्रोतले पौडेल र घिमिरेलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । चितवन प्रहरीका प्रमुख एसपी रामेश्वर पौडेलले सांसद ओली विरुद्ध साइबर अपराधमा उजुरी काठमाडौँमा परेर साइबर अपराध ब्यूरोले पहिचान गरेर पठाएका दुई व्यक्ति नियन्त्रणमा लिइएको बताए ।
आज बिदा भएकोले प्रहरीले थप अनुसन्धानका लागि म्याद थप नगरेकोले उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन । यद्यपि चितवन प्रहरी प्रमुख एसपी पौडेेलले नियन्त्रणमा लिइएको मध्ये एक व्यक्ति रास्वपा कार्यकर्ता भएको जानकारीमा आएको बताए ।
उनीहरु दुवैजनालाई सोमबार म्याद थप गरेपछि मुद्दा प्रक्रिया चितवनबाट नै अघि बढाउने प्रहरीको तयारी छ ।


