
- स्वास्थ्यमन्त्रीको आलोचना गर्दै सामाजिक सञ्जालमा टिप्पणी लेखेका चिकित्सक नवेश अधिकारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।
- मन्त्रीलाई माफिया भन्दै पदबाट राजीनामा दिनुपर्ने मागसहित अधिकारीले फेसबुकमा स्टाटस लेखेका थिए।
- पक्राउको स्थानीय स्वास्थ्यकर्मीले विरोध गरेका छन् भने प्रहरीले साइबर उजुरीका आधारमा सोधपुछका लागि मात्र ल्याइएको जनाएको छ।
असार २३ गते मङ्गलबार प्रकाशित समाचार नेपाल प्रेस खबर काठमाडौँ
सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचना गरेपछि धनुषामा एक चिकित्सक पक्राउ परेका छन् ।
स्वास्थ्यकर्मी नवेश अधिकारी स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गरेपछि हिजो रातिदेखि प्रहरी नियन्त्रणमा छन् ।
अधिकारीले गत शनिबार फेसबुकमा मन्त्री मेहताको तस्बीर रातो मसीले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर पोष्ट गरेका थिए ।
सँगै ‘निशा मेहता, तिमी सरकारले गरेको प्रत्येक अस्पतालमा गरिब जनताका लागि १० प्रतिशत निःशुल्क बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा अहिलेसम्म लागू गराउन सकेकी छैनौँ । तिमी आखिर के गर्दैछौँ ?
लाज बेचिसक्यौ भने स्वास्थ्यमन्त्री पदबाट राजीनामा देऊ’ भन्दै स्टाटस लेखेका थिए ।
सोही पोष्टका आधारमा ‘माथिको आदेश’ बताउँदै अधिकारीलाई पक्राउ गरिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीहरुले तीव्र विरोध जनाएका छन् । मन्त्रीको आलोचना गरेकै कारण पक्राउ गरिनु सत्ताको घमण्ड, राज्यको दुरुपयोग र आवाज थुन्ने नाङ्गो प्रयास भएको उनीहरुको ठहर छ ।
यता, धनुषा प्रहरीका प्रवक्ता नायब उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले अधिकारीलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको बताए । भने, ‘सोही नाममा साइबरसम्बन्धी उजुरी परेकोले उनलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएका हौं ।
छोड्ने तयारी भइरहेको छ ।’

