
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको टिप्पणी गरेका छन् ।‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कुटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?,’ साम्पाङको प्रश्न छ ।
नेपाली सेनालाई सीमा सुरक्षामा पठायो कि सुमुम्वासी बस्तीमा पठायो भन्ने पनि उनको प्रश्न छ ।सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैकलाउनुको कारण के हो ? भनेर उनले जवाफ मागे ।सरकार असफल भइसकेको पनि आफूहरूको बुझाइ रहेको उनले बताए ।
नागरिकको आवासको हक सरकारले नै उल्लंघन गरेको उनले बताए ।संसद छलेर अध्यादेश ल्याउने प्रवृतिको पनि उनले विरोध गरे ।‘यो सरकारलाई लोकतन्त्रको याद दिलाउनुपर्ने भयो ।’ उनले भनेका छन्, ‘नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ । यसकारण संसद् छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो । यो सरकारले विधि र थिति बसाउन किन सकेन ? सरकार आफैं लोकतन्त्रलाई कमजोर बनाउने दिशामा गयो ?’
संवैधानिक परिषद्का ६ जनामध्ये ३ जना कसरी बहुमत भयो ? भन्ने पनि उनको प्रश्न छ । बजेट बनाउँदा प्रतिपक्ष दलसँग सल्लाह गर्न उनको आग्रह छ ।१०० रुपैयाँमा समेत भन्सार माग्ने सरकारले चोरी पैठारी भने रोक्न नसकेको बताए ।

