नेपाल प्रेसखबर अर्घाखाँची
प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ ।
प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् ।गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका उनको उपचारका क्रममा ३० चैतमा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई ३० चैतमा नै पक्राउ गरिएको उनले बताए ।उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद भएको भट्टराइले बताए ।प्रहरीका अनुसार २९ चैतमा राति करिब पौने ११ बजे शिकार खेलेर फर्किने क्रममा जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले गोली हानेका थिए ।
गोली लागेर सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए ।
घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पठाइएकोमा परियारको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते किशोरीको अवस्था भने अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरूलाई प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिए


