भदौ २३ को घटनाबारे गलत प्रचार भइरहेको छ : पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनालाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्।

ओलीले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने आदेश दिन अधिकार नदिएको उल्लेख गर्दै भनेका छन्, “त्यस्तो आदेश मैले कहिल्यै दिएको छैन र दिन सोच्न पनि सक्दिनँ।”

उनका अनुसार घटनापछि तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको थियो। ज्यान गुमाएका १९ जना नानीबाबुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले आफू अझै पनि गहिरो पीडामा रहेको बताएका छन्।

पूर्व प्रधानमन्त्री ओलीले माइतीघरको जेनजी प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भएको र त्यहाँ कुनै गोली वा लाठीचार्ज नभएको दाबी गरेका छन्। तर करिब १२ बजेतिर “घुसपैठ गर्ने तत्वहरूले” युवाहरूलाई निषेधित क्षेत्रतर्फ उक्साएको उनको भनाइ छ।

उनले केही समूहले योजनाबद्ध रूपमा बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद भवनसम्म पुर्‍याउन खोजेको आरोप लगाएका छन्। संसद भवनअगाडि आगजनी प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि कानुनअनुसार सुरक्षा निकायले बल प्रयोग गर्न बाध्य भएको ओलीको भनाइ छ।
ओलीले थप स्पष्ट पारे, “सरकारको आदेशमा होइन, सुरक्षाकर्मीले कानुनको सपथअनुसार संसद भवनभित्र आक्रमण भएपछि गोली चल्यो।”

पूर्व प्रधानमन्त्री ओलीले राजीनामापछि भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत संरचनामा भएको विध्वंशलाई पनि स्मरण गर्दै त्यस घटनाबाट अराजकता फैलाउने समूहहरूको उद्देश्य प्रष्ट भएको बताएका छन्।

अन्त्यमा ओलीले नागरिकलाई सामाजिक सञ्जालको गलत प्रचारमा नलाग्न आग्रह गर्दै एउटा गम्भीर प्रश्न उठाएका छन्—
माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी लग्यो?”
उनले आफू कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?