काठमाडौँ। देव प्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति, नेपालले वर्तमान राजनीतिक अवस्था, सरकारको चरित्र र निर्वाचन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै आगामी निर्वाचनलाई औपचारिक रूपमा अस्वीकार गर्ने घोषणा गरेको छ। केन्द्रीय समिति काठमाडौँद्वारा जारी विज्ञप्तिमार्फत संगठनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन नसक्ने ठहरसहित निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय सार्वजनिक गरेको हो।
विज्ञप्तिमा अराजकता, भ्रष्टाचार र वैदेशिक प्रभावबाट ग्रस्त मुलुकलाई स्पष्ट दिशा र दीगो विकासतर्फ लैजानु नै नागरिक शक्ति नेपालको मूल उद्देश्य रहेको उल्लेख गरिएको छ। तर सरकार परिवर्तन मात्रले देशले अपेक्षित स्थायित्व, शान्ति र समृद्धि प्राप्त गर्न नसकेको निष्कर्ष निकाल्दै संगठनले आमूल परिवर्तनको आवश्यकतामा जोड दिएको छ।

नागरिक शक्ति नेपालले हालको सरकार स्वयं निष्पक्ष नरहेको, सत्तामा रहेका व्यक्तिहरू विभिन्न दल तथा स्वार्थ समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध रहेको आरोप लगाएको छ। यस्तो अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने र निर्वाचन स्वयं अस्थिरता, द्वन्द्व तथा हिंसाको कारण बन्न सक्ने खतरा रहेको संगठनको दाबी छ।
विज्ञप्तिमा फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ दर्ता गरिएका आफ्ना उम्मेदवारहरूको नाम फिर्ता लिँदै उक्त निर्वाचन अस्वीकार गर्ने निर्णय गरिएको उल्लेख छ। साथै, निष्पक्ष वा सर्वदलीय सरकार गठन नभएसम्म वर्तमान सरकारले गराउने कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट गरिएको छ।
नागरिक शक्ति नेपालले देशलाई विद्यमान संकटबाट बाहिर निकाल्न राजनीतिक निकासको विश्वसनीय मार्ग सुनिश्चित गर्न सरकार तथा सम्पूर्ण सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।


