अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकी श्रीमती दीपा आचार्यले जेन–जि आन्दोलन क्रममा सन्धिखर्कस्थित मुख्यमन्त्रीको घरमा तोडफोड गरेको आरोपमा गुरूदेव खनाल, पुष्कर पैडल र चुरामणि ढुङ्गानाविरुद्ध उच्च अदालत बुटवलमा मुद्दा दायर गरेकी छन्।
यसअघि सोही मुद्दा जिल्ला अदालत अर्घाखाँचीमा दायर गरिएको थियो। अदालतमा तीनै युवालाई निर्दोष ठहर गरिएको थियो , प्रहरीमार्फत जबरजस्ती हत्कडी लगाई पक्राउ गराइएको घटनाले जिल्ला–व्यापी आलोचना खेख्न परेकाे थियो । स्थानीयवासी तथा अभियुक्त पक्षले यसलाई “मुख्यमन्त्रीको प्रत्यक्ष दवाव” को उदाहरणका रूपमा लिएका थिए।

जिल्ला अदालतबाट सफाइ पाएपछि पनि पुनः उच्च अदालतमा मुद्दा दर्ता गरिनु प्रतिशोधका नियतका साथ गरिएको कदम भएको युवाहरूको आरोप छ। आन्दोलनको क्रममा गरिएका शान्तिपूर्ण गतिविधिलाई राजनीतिक बदनियतसहित आपराधिक रंग लगाइएकाे उनीहरूको भनाइ छ।
अभियुक्तमध्येका गुरूदेव खनालका अनुसार, उनीहरू लामो समयदेखि अर्घाखाँचीमा हुने दलिय हस्तक्षेप, अर्घाखाँची अस्पतालको लापरवाही, र मुख्यमन्त्रीको घर सार्वजनिक जमिन मिचेर गैरकानुनी रूपमा बनेको विषयलगायत थुप्रै सार्वजनिक मुद्दाहरू उठाउँदै आएका कारण अधिकार पक्षले आफूहरूलाई विभिन्न तरिकाले सताउन खोजिएको छ।

स्थानियहरूकाे भनाइमा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारकालागि आवाज उठाउने युवामाथि पटक–पटक मुलुकी अपराधको आरोप थोपर्ने प्रयास स्वयं राज्यद्वारा नागरिक अधिकारको दुरुपयोग हो।
घटना अब उच्च अदालतमा पुगेकाले, यसले प्रदेश राजनीति, प्रहरीको कार्यशैली र स्थानीय शासनमा दलिय हस्तक्षेपबारे थप बहस उठाउने अनुमान गरिएको छ।


