बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिबाट सो प्रभाव कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना छैन ।
दिउँसोसम्म काठमाण्डौ र मध्य भेगका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने उहाँको भनाइ छ । दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ । भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविदले बनाएका छन् । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भैरहेको छ ।
पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो । हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । र आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १-२ ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १-२ ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

