परिचय/ पृष्ठभूमि :
विचारको धरातलमा राजनीति हुनुपर्छ। राजनीति कुनै पद प्राप्तिको सीँढी होइन; यो राष्ट्रप्रेमको तपोभूमि हो। साँचो राजनीतिज्ञले देशलाई साधन होइन, साध्य ठान्छ। जब राजनीति “सेवा” को बाटोमा रहन्छ, तब देश बाँच्दछ; जब यो “पेशा” बन्छ, तब चरित्र मर्छ। आज नेपाली राजनीति व्यवसाय जस्तो देखिन थालेको छ।जहाँ विचारभन्दा अवसर बोल्दछ,सिद्धान्त भन्दा स्वार्थ हावी हुन्छ,तर साँचो राजनीति त आत्मा हो, जसले समाजको अन्याय, विषमता र पीडितलाई मुक्ति दिने प्रतिज्ञा गर्छ। त्यसैले राजनीति भनेको कर्तव्यको धर्म हो, लाभको व्यापार होइन।
यो त न्यायपूर्ण समाज निर्माणको मार्ग हो। राजनीति गर्ने व्यक्ति सर्वप्रथम आफू राजनीति गर्न योग्य हो कि होइन। आफूमा सेवाभाव, त्याग र समर्पण छ कि छैन भनेर हेक्का राख्नुपर्छ। राजनीति गर्ने व्यक्ति पुर्वाग्रह रहित अध्ययनशील हुनुपर्छ। दार्शनिक दृष्टिकोण राख्दै तथ्यमा टेकेर समाज उत्थान गर्ने सामर्थ्य राख्नुपर्छ।
राष्ट्रप्रेम र जनकल्याणको सङ्कल्प नै राजनीति हो।राजनीतिको सर्वोच्च उद्देश्य राष्ट्र र जनताको हित हो। यो मार्गमा प्रवेश गर्नेले धन होइन, धैर्यको, शक्ति होइन, सत्यको, पद होइन, परोपकारको खोज गर्नुपर्छ। राजनीतिज्ञ जनताको सेवक हुन्, मालिक होइनन्। उनीहरू जनविश्वासका संरक्षक हुन्, सौदागर होइनन्।यदि राजनीति स्वार्थको व्यापारमा रूपान्तरित भयो भने राष्ट्र नै बिक्रीमा जान्छ। त्यसैले यो लेखको उद्देश्य राजनीति पुनः त्यही “सेवाभावको शुद्ध धरातल” मा फर्कियोस् भन्ने चेतना जगाउनु हो।
राजनीतिक आदर्श : त्याग, सत्य र जनसेवा हो।
इतिहास साक्षी छ,साँचो राजनीति सधैं त्याग र आदर्शको आधारमा फस्टाउँछ। महात्मा गान्धीले राजनीति लाई “नैतिकताको प्रयोग” भनेका थिए,नेल्सन मण्डेलाले यसलाई “मानव मुक्ति” को साधन माने,बीपी कोईरालाले “मानव मुक्ति नै समाजवादको लक्ष्य हो” भन्दै राजनीतिलाई मानवताको पवित्र धर्मसँग जोडिदिए।राजनीति तब महान् हुन्छ जब त्यसमा सत्ता होइन, सेवा बोल्दछ; पद होइन, प्रतिज्ञा बोल्दछ।आजका धेरै नेताहरू राजनीतिमा पेशेवर व्यापारीझैँ बन्दैछन।अवसर खोज्ने, पदको सौदावाजी गर्ने, र सिद्धान्त बेच्ने। राजनीति साँचो अर्थमा भनेको जनताको आँसु पुछ्ने साधन वा शक्ति हो,न्यायको पुनर्स्थापना गर्ने साहस हो,र राष्ट्रप्रेमको सजीव दर्शन हो।
सेवा नभए राजनीति शव हो
राजनीतिबाट सेवाको आत्मा हरायो भने त्यसको अस्तित्व मात्र बाँकी रहन्छ, सार हराउँछ।राजनीति जनताको जीवनमा उज्यालो ल्याउने साधन हो,तर आज त्यही राजनीतिले नेपाली समाजमा अन्धकार बढाइरहेको छ।हामीले सम्झनुपर्छ, राजनीति बिना देश अधुरो हुन्छ; तर सेवा बिना राजनीति निरर्थक हुन्छ।पद, पैसा र प्रतिष्ठाको मोहमा अन्धा बनेका राजनीतिज्ञहरूले राष्ट्रलाई अराजक बनाएका छन्।अब समय आएको छ। राजनीतिलाई पुनः सेवा र सत्यको मार्गमा फर्काउनु पर्छ, किनकि राजनीति सेवाको रुपमा विकास भयो भने राष्ट्र अमर रहन्छ; राजनीति पेशा बन्यो भने चरित्र मर्छ।
सुझाव : राजनीतिक पुनर्जागरणका उयायहरू:
१. नैतिक शिक्षाको पुनर्स्थापना: राजनीतिक दल र तिनका अगुवाहरुले नीति र निष्ठाको शिक्षा अनिवार्य बनाऊन्।
२.. सेवाभावमा आधारित नेतृत्व चयन: पदका लागि होइन, योगदानका लागि व्यक्तिलाई अघि ल्याइयोस्।
३. जनचेतना विस्तार : जनताले नेताको मूल्याङ्कन भाषणले होइन, कार्यले गर्न सिकून्।
४. युवापुस्ताको सहभागिता: स्वच्छ मन र समर्पित हृदय भएका युवाहरू राजनीतिमा प्रवेश गर्न प्रोत्साहित गरियोस्।
५. राजनीतिक आचारसंहिता पालन: स्वार्थ, भ्रष्ट्राचार र बेइमानीलाई कानुन र संस्कार दुवैबाट निषेध गरियोस्।
अन्त्यमा : राष्ट्रप्रेम नै राजनीति:
राजनीति कुनै मञ्च होइन जहाँ तालीको व्यापार हुन्छ,यो एउटा मन्दिर हो, जहाँ समर्पणको दीप बालिन्छ।जोराजनीतिज्ञले सेवा गर्छ, ऊ अमर हुन्छ;जो राजनीतिज्ञले सत्ता बेच्दछ, ऊ इतिहासको अन्धकारमा हराउँछ।त्यसैले आज हामी सबैले एक स्वरमा भन्नुपर्छ,“राजनीति राष्ट्रसेवा हो, पेशा होइन।” अस्तु।🙏



