काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
नेपाली परम्परा अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजिन्छ। यस दिन कागलाई आदरपूर्वक पूजा गरी मिठा–मिठा परिकार अर्पण गर्ने चलन रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकीदेखि यमदीप दान पनि सुरु हुने भएको छ। शास्त्रीय मान्यताअनुसार यमदीप दान गरे मृत्युपश्चात् यमलोकको यातनाबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ।
यसै अवसरमा आज धनवन्तरी जयन्ती पनि मनाइन्छ। आगामी दिनहरूमा क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार र भाइटीका मनाइने छन्।देशका विभिन्न ठाउँमा घर–आँगन सजाइने, बत्ती बाल्ने र देवी लक्ष्मीको स्वागतको तयारी सुरु भइसकेको छ।


