आज विश्वकर्मा पूजा, भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ ।हरेक वर्ष असोज १ गते यो पर्व मनाइन्छ, जसमा सवारीसाधन, औजार र धातुजन्य उपकरणहरूको पूजा गरिन्छ। मानव सभ्यता सृजनात्मक कर्म र नव निर्माणमा आधारित छ, र यसका मूल स्रोत र प्रेरणा भगवान् विश्वकर्मा हुन्। प्राचीन ग्रन्थमा उनलाई देव शिल्पी भनिएको छ, जसले तीनै लोकको निर्माण गरेका थिए।
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन् । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।
आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

