काठमाडौं ।जेन–जी आन्दोलनमा भएको प्रहरी दमनका कारण १७ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि नेपाली कांग्रेस आक्रोशित बनेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गर्दै सडकदेखि सामाजिक सञ्जालसम्म कडा विरोध जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमा लेख्दै, “मन्त्री लेखक मृत्युप्रति प्रत्यक्ष उत्तरदायी छन्, उनले तुरुन्त पद छाड्नुपर्छ,” भनेका छन् ।
यस्तै, नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले गृहमन्त्रीलाई तानाशाहीको प्रतीक भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी बनेको आरोप लगाइन् । उनले कांग्रेस अब सरकारमै बसिरहन नसक्ने चेतावनी दिइन् ।
कांग्रेसका नेता व्रितान्त खनाल र धर्मराज शाहीले पनि आन्दोलनको समर्थन जनाउँदै सरकारलाई अपराधी संज्ञा दिएका छन् । उनका अनुसार, “जनतामाथि गोली चलाउने सरकारले शासन गर्ने नैतिकता गुमाइसकेको छ ।”कांग्रेस नेतृत्वले अब आन्दोलनको मैदानमा पूर्ण ऐक्यबद्धतासाथ उत्रिने घोषणा गरेको छ ।


