नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:४६ बजे र सूर्यास्त,साँझ ०५:१२ बजे हुनेछ भने चन्द्रोदय,दिउँसो ०२:४२ बजे र चन्द्रास्त,मध्यरात्रीपछि ०३:२२ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । ज्ञानविज्ञानका विषयमा भन्दा पनि आज धनसम्पत्तितर्फ आकर्षण रहने समय हो । मिठो बोलीको प्रयोग गरेर कुनै महत्त्वपूर्ण काम बनाउन सक्नुहुन्छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गरी अघि बढेमा फाइदा हुनेछ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।
कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके/ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

