काठमाडौं । प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ बहुमतले स्वीकृत गरेको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भई आएको विधेयकलाई पारित गर्दै कानून निर्माणको प्रक्रिया अघि बढाएको हो।
यस संशोधनले लामो समयदेखि नागरिकता विहिन भएर समस्यामा परिरहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने प्रावधान राखेको छ।
विधेयकका प्रमुख व्यवस्था:
बाबुको पहिचान नभएका तर आमाको नाममा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र रहेको व्यक्तिले आमाको नामको आधारमा नेपाली नागरिकता पाउने।
आमा वा बाबु मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता पाएका भए उनका सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने।
नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गर्ने, तर विदेशी राहदानी वा नागरिकता नलिएका व्यक्तिहरूलाई अङ्गीकृत नागरिकता दिने।
१६ वर्षमुनिका नाबालकलाई वैदेशिक यात्राका लागि नाबालक परिचयपत्र दिने व्यवस्था।
विधेयक पारितपछि हुने प्रभाव:
अदालतका परमादेश र आदेशको कार्यान्वयनमा एकरुपता आउने।
कुनै पनि नेपाली नागरिक नागरिकता पाउने हकबाट वञ्चित नहुने।
नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयन हुने।
वैदेशिक रोजगारीमा गएका नेपाली महिलाका सन्तानले नागरिकता पाउने बाटो खुल्ने।
संसदमा विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता विहिन भएर समस्या खेपिरहेका हजारौं युवायुवतीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


