काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको यो व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा श्रद्धा, भक्ति र विधिसहित मनाउँदै आएका छन्।
स्वस्थानी व्रतलाई विशेषगरी महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा पति–पत्नीको दीर्घायुका लागि गर्ने धार्मिक परम्परा रहँदै आएको छ। एक महिनासम्म नियमित पूजा, कथा श्रवण तथा व्रत बसेर भक्तजनहरूले आज अन्तिम दिन विधिपूर्वक समापन गर्न लागेका हुन्।
देशभरका भक्तजनहरूले पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका थिए। आज मध्याह्नकालपछि विशेष पूजा सम्पन्न गरी व्रत समापन गरिन्छ।
यसै क्रममा स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने परम्परा पनि आजैदेखि अन्त्य गरिँदैछ।
स्वस्थानी व्रत समापनका दिन भक्तजनहरूले भगवतीलाई अघ्र्य दिँदै १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धुप, बत्ती, नैवेद्य, रक्तचन्दन, सिन्दूर, वस्त्र लगायत सामग्री चढाउने धार्मिक विधि रहेको छ।
धार्मिक मान्यताअनुसार चढाइएका प्रसादमध्ये आठ–आठ वटा पति वा छोरा नभए मित छोरालाई दिने र बाँकी सामग्री नजिकको पवित्र नदीमा बगाउने चलन रहेको छ।
व्रत समापनको अवसरमा बर्तालुहरूले रातभर जाग्राम बसेर देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा पनि छ। धार्मिक विश्वासअनुसार यसो गरेमा भक्तजनहरूको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।
स्वस्थानीको शाब्दिक अर्थ “आफू बसेको स्थानकी देवी” भन्ने बुझिन्छ। उत्तरायणपछि ध्यान, योग र साधनाका लागि उपयुक्त समय भएकाले यस अवधिलाई विशेष धार्मिक महत्त्व दिइएको मानिन्छ।
व्रतकथामा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा विराजमान, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। चार हातमध्ये नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएको उल्लेख पाइन्छ।
धार्मिक विश्वासअनुसार विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने तथा इच्छाएको वर प्राप्त हुने कथा प्रचलित छ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशअनुसार स्वस्थानी व्रत गरेको कथा समेत यसमा उल्लेख छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज साँखु क्षेत्रको राजा बनेको कथा समेत स्वस्थानीमा वर्णन गरिएको छ।
उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ। करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्।
स्वस्थानी व्रत केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली समाजको सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। व्रतको समापनसँगै भक्तजनहरूले परिवारको सुख, समृद्धि र शान्तिको कामना गर्दै देवीको कृपा प्राप्त गर्ने विश्वास राखेका छन्।


