पार्टी घोषणा गर्दै मिराज ढुंगाना
जेनजी युवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्।
सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको जानकारी गराएका हुन् ।
शनिबार दिउँसो १ बजे काठमाडौंको होटल एभरेस्टमा पत्रकार सम्मेलन गरी ‘गरिखान देउ’ अभियानमार्फत पार्टी घोषणा गर्न लागेको उनले बताएका छन्।
उनले भनेका छन्- ‘राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ, जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।’
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनको भनाई छ।
उनले भनेका छन्- ‘देश गम्भीर अवस्थामा छ । ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ। । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं । त्यसका लागि वार्ता समितिले काम गरिरहेको छ ।’
उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन्।


