
- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन नेकपाले ह्विप जारी गरेको छ।
- मुख्यमन्त्रीले भोलि सोमबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।
- संसदीय दलको निर्णयअनुसार सबै प्रदेश सभा सदस्यलाई अनिवार्य उपस्थित भई मत दिन निर्देशन दिइएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ह्विप जारी गरेको छ। सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यहरूलाई आइतबार ह्विप जारी गरेको हो।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले शुक्रबार एक पत्र जारी गर्दै भदौ ८ गते आइतबार दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
गत भदौ ३ गते नेकपा, एमाले र राप्रपाबिचको सहमति र सहकार्यमा मुख्यमन्त्री थापाको नेतृत्वमा बागमती सरकार गठनका लागि दाबी पेस भएको थियो भने भदौ ४ गते प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नियुक्ति तथा शपथ ग्रहण गराएका थिए।
भदौ ८ गते सोमबार नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलको निर्देशन बमोजिम विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी भएको प्रमुख सचेतक ढकालले बताए ।
‘प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको पक्षमा मतदान गर्न दलका नेताको निर्देशन सहित उपस्थितिको लागि निर्देशन छ,’ उनले जारी गरेको पत्रमा भनिएको छ।

