
- कपिलवस्तुको विजयनगरमा प्रहरीले छापा मारी अवैध सिसौ काठ बरामद गरेको छ।
- घटनामा संलग्न काठ मिल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- बरामद काठ र सञ्चालकलाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाइएको छ।
विजयनगरमा अवैध सिसौ काठ बरामद, काठ मिल सञ्चालक नियन्त्रणमा
कपिलवस्तु, साउन ४ गते प्रकाशित समाचार लालु चौधरी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अवैध सिसौ (सिसम) काठ बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा काठ मिलका सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका–७ दत्तपुरदेखि भारतको परसरामपुर जाने सडकखण्डअन्तर्गत नेपालतर्फ रहेको निसा तथा काठ मिल उद्योग मा छापा मार्दा लुकाइछिपाइ राखिएको ९ वटा सिसौ काठका गोलिया फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको काठको परिमाण करिब ११० क्यूबिक फिट रहेको छ।
अनुसन्धानका क्रममा काठ मिलका सञ्चालक (साहु) लाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
बरामद काठ तथा नियन्त्रणमा लिइएका सञ्चालकलाई थप कानुनी कारबाहीका लागि ठकुरापुर सब-डिभिजन वन कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

