
- व्यक्तिगत घटनाहरू समयमै दर्ता गर्न र कर तिर्ने दायित्व पूरा गर्न आग्रह गरिएको छ।
- चाडपर्वलाई सभ्य रूपमा मनाउँदै सामाजिक सद्भाव र एकता कायम राख्न अनुरोध छ।
- बालविवाह नगर्न, नक्सा पास गरी घर बनाउन र शिक्षा तथा वातावरण संरक्षणमा जुट्न भनिएको छ।
सन्धिखर्क नगरपालिकाद्वारा नागरिकलाई विभिन्न विषयमा सचेतनामूलक अनुरोध
सन्धिखर्क, अर्घाखाँची।
सन्धिखर्क नगरपालिकाले नागरिकलाई लक्षित गर्दै विभिन्न सार्वजनिक तथा व्यक्तिगत दायित्वसँग सम्बन्धित विषयमा सचेतनामूलक अनुरोध जारी गरेको छ। नगरपालिकाले जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना समयमै दर्ता गराउन सबै नगरवासीलाई आग्रह गरेको छ।
नगरपालिकाले चाडपर्वलाई भड्किलो नबनाई सभ्य र खुसीपूर्वक मनाउन, चाडपर्वका बेला हुने आपराधिक गतिविधिप्रति सचेत रहन तथा सामाजिक सद्भाव र आपसी एकता कायम राख्न समेत अनुरोध गरेको छ।
यस्तै, विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न तथा सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्न, खानेपानीका मुहानहरू सफा राख्न, वन–जङ्गल संरक्षण गर्न तथा समयमै कर तिरी नागरिक दायित्व पूरा गर्न पनि सबैमा अपिल गरेको छ।
नगरपालिकाले जिम्मेवार र सचेत नागरिकको भूमिका निर्वाह गर्दै कानुनको पालना, सामाजिक सद्भाव र वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको जनाएको छ।

