
- आज रुपन्देहीमा सूर्योदय बिहान ५:०५ र सूर्यास्त साँझ ६:४५ बजे हुनेछ।
- आज अधिकांश राशिका लागि कार्यक्षेत्र र पारिवारिक जीवनमा सन्तुलन मिलाउनुपर्ने दिन छ।
- विभिन्न राशिका व्यक्तिले धार्मिक कार्य, मेहनत र सचेत निर्णयबाट सफलता प्राप्त गर्न सक्नेछन्।
नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०५:०५ बजे र सूर्यास्त,साँझ ०६:४५ बजे हुनेछ भने चन्द्रास्त,बिहान ०९:०८ बजे र चन्द्रोदय,बेलुका ०९:४५ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक,सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नियम,कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ मिलाउनुभन्दा ‘नाइँ पनि भन्न सक्नुपर्छ । मनको बोझ दबाएर राख्ने परिस्थिति छ, कुनै समस्या छ भने अभिभावक वा सिनियर्सलाई बताएमा निकास पाउन सकिन्छ । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय हो, घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ ।
मीन ~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोप्य शत्रुहरूबाट सजग रहनु होला, त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

