
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेन–जी आन्दोलनबाट सत्ताच्यूत भएको उनीहरूले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै पक्राउ गर्न माग गरिएको हो।
आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरिएको छ भने काठमाडाैं उपत्यकाबाट बाहिर जानुपर्ने अनुमति लिनुपर्ने भनिएको छ । जेन–जी आन्दोलनको अगुवाको रूपमा रहेका सुदन गुरुङलगायतका टोलीले विगत केही समयदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आएका छन्। २३ भदौको आन्दोलनमा मारिएका जेन–जीहरूको जिम्मेवार ओली र लेखक भएको उनीहरूको दाबी छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष गुरुङलगायतका जेन–जी आन्दोलनका अगुवाले सरकार बनेदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुका साथै अन्य नेताहलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आएका छन् ।पछिल्ला दिनमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पनि उनीहरूले पक्राउ गर्नुपर्ने माग गर्दै आएका छन्।
गत शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको जेन–जी आन्दोलनका अगुवा र सरकारी अधिकारीसँगको छलफलमा पनि उक्त माग अघि सारिएको थियो । गुरुङले ओली,लेखक र बस्नेतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका थिए । सरकारले कानुनी प्रक्रियामार्फत अघि बढ्ने बताएपछि सामाजिक सञ्जालमार्फत जेन–जी अगुवाले दबाब बढाउन खोजेका हुन् । उनीहरूले सार्वजनिक रूपमा दबाब बढाएर सरकारलाई पक्राउ गर्न सजिलो बनाउन खोजेको देखिन्छ । यद्यपि, उनीहरूको उक्त दबाबले ओली, लेखकलाई पक्राउ गर्न कति कानुनी बाटो खोल्छ ? भन्नेचाहिँ चासोको विषय बनेको छ ।


