
- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने छैनन्।
- देशमा आएको बाढीपहिरो र विपद्को शोकमा उनले दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका छन्।
- ठूलो जनधनको क्षति भएकाले यस वर्ष टीकाको कार्यक्रम नरहेको निर्मल निवासले जनाएको छ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् ।
उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ ।
गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो ।


