
- अर्घाखाँचीमा पत्रकारहरूका लागि दुई दिने एआई प्रविधि तालिम सम्पन्न भएको छ।
- नेपाल पत्रकार महासंघ र शितगंगा नगरपालिकाको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो।
- तालिमले पत्रकारितालाई थप प्रभावकारी र आधुनिक बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
अर्घाखाँचीको नरपानीमा पत्रकारहरूका लागि दुई दिने एआई (AI) तालिम सम्पन्न
अर्घाखाँची, १४ असार प्रकासित समाचार
विश्वभर तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (आर्टिफिशियल इन्टेलिजेन्स – AI) प्रविधिलाई स्थानीय सञ्चार जगतसम्म पुर्याउने उद्देश्यका साथ अर्घाखाँचीमा दुई दिने विशेष तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा अर्घाखाँचीको आयोजना र शितगंगा नगरपालिकाको सहयोगमा सञ्चालित उक्त तालिम असार १३ र १४ गते सन्धिखर्क नगरपालिका वडा नं. ६ स्थित पर्यटकीय स्थल नरपानीको क्याम्प फायर रिसोर्टमा आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्यले पछिल्लो समय एआई प्रविधि निकै एडभान्स र अपरिहार्य बन्दै गएको बताउनुभयो। प्रविधिको सही सदुपयोग गरेर पत्रकारितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शोभाखर पन्थी र उपाध्यक्ष रुद्रमणि पौडेल लगायतले एआई प्रविधिको सान्दर्भिकता र यसले पत्रकारिता क्षेत्रमा ल्याउने सकारात्मक परिवर्तनबारे आफ्ना भनाइहरू राख्नुभएको थियो।
तालिममा जिल्लामा क्रियाशील झन्डै सबै पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पोखराबाट आमन्त्रित एआई विज्ञ एवं प्रशिक्षक विश्वराज पौडेलले दुई दिनसम्म पत्रकारहरूलाई तालिम प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले एआईका नयाँ-नयाँ फिचरहरू सिकाउँदै यसको प्रयोगबाट कसरी समयको बचत गर्ने, जटिल कामहरूलाई सेकेन्डभरमै कसरी फत्ते गर्ने र नवप्रवर्तनकारी तरिकाले सामग्री उत्पादन कसरी गर्ने भन्नेबारे प्रयोगात्मक ज्ञान दिनुभएको थियो।
स्थानीय तहसम्म प्रविधिको पहुँच पुर्याउँदै डिजिटल पत्रकारितालाई प्रवर्द्धन गर्न यो तालिम निकै कोसेढुङ्गा सावित हुने सहभागी पत्रकारहरूले विश्वास व्यक्त गरेका छन्।

