
- आज नेपालमा सूर्योदय बिहान ५:०८ बजे र सूर्यास्त साँझ ७:०२ बजे हुनेछ।
- मेषदेखि कर्कट राशिसम्मका लागि विशेष अवसर, आर्थिक लाभ र पारिवारिक सहयोगको योग छ।
- अन्य राशिका लागि कार्यक्षेत्रमा मिहिनेत, सावधानी र सम्बन्धमा समझदारी अपनाउनु हितकर हुनेछ।
नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सुर्योदय,बिहान ०५:०८ बजे र सूर्यास्त, साँझ ०७:०२ मिनेटमा हुनेछ ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ ।
बृष ~(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।
मिथुन ~(का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु~गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ ।
कर्कट~( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ ।
सिंह~( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।
कन्या~( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो ।
तुला ~(र, रि, रु, रे, रो, ता, ति, तु, ते )
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ ।
बृश्चिक~( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ ।
मकर ~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउने परिस्थिति छ, तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सक्नुहुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।
कुम्भ~( गु, गे, गो, सा, सि, सु, से, सो, द )
किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ ।
मीन~( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

