
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन मंगलबार पनि भृकुटीमण्डपमा बन्द सत्र जारी छ । महाधिवेशनले नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै निर्वाचन समिति समेत गठन गरेको छ ।
बन्द सत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति घोषणा गरेको छ । समितिका अन्य सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम छन् । सोमबार पारित भएको कार्यविधि अनुसार निर्वाचनका सम्पूर्ण काम सम्पन्न गर्ने जिम्मेवारी उनहरूलाई दिइएको छ ।
यसैबीच, पार्टी संस्थापन पक्षले मंगलबार दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने घोषणा गरेका छन् । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको र निर्वाचन कार्यविधि समेत पारित भइसकेकाले आफूहरू केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताए । उनले अहिलेको प्राथमिकता महाधिवेशन नै भएको र बन्द सत्रमा व्यस्त हुनुपर्ने भएकाले बैठकमा जान नसकिने स्पष्ट पारेका हुन् ।
बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार प्रस्तुत गरेका राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि घनीभूत छलफल भएको छ । प्रतिवेदनमाथि छलफल गर्न नौ वटा समूह बनाइएको थियो । ती समूहका टोली नेताहरूले मंगलबारको सत्रमा आ-आफ्नो समूहको निष्कर्ष र सुझावहरू हलमा टेबुल गरिरहेका छन् ।
नेता मनोजमणि आचार्यका अनुसार समूहगत निष्कर्ष प्राप्त भएलगत्तै नेतृत्व चयनको विधिवत् प्रक्रिया सुरु हुनेछ । आइतबारदेखि सुरु भएको यो विशेष महाधिवेशनले पार्टीको आन्तरिक संरचना र आगामी राजनीतिक बाटो तय गर्ने अपेक्षा गरिएको छ । नेतृत्व चयनको कार्यसूची थपिएपछि महाधिवेशन केही दिन लम्बिने देखिएको छ ।



