देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू~भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ। चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू~भागमा साधारण बदली रही बाँकी भू~भागमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका १-२ स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू~भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू~भागमा आंशिक बदली रही बाँकी भू~भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानमा हुस्सु रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ।

